दमाचौर साना किसान सहकारीको बार्षिक साधारणसभा: तरकारी, फलफुल र पशुपालनमा बढी लगानी

सल्यान, ६ पुस ।

ग्रामीण क्षेत्रका कृषकहरुलाइ एकजुट गर्दै संचालन भैरहेको सल्यानको एक साना किसान कृषि सहकारीले तरकारी तथा फलफुल खेती र पशुपालनलाई प्राथमिकता दिदै करिव पौने ७ करोड रुपैया लगानी गरेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ मा रहेको दमाचौर सानाकिसान कृषि सहकारी संस्था लिमिटेडले ६ करोड ७० लाख ५५ हजार रुपैया ऋण लगानी गरेको हो । शनिबार सहकारीको नवौं बार्षिक साधारणसभामा मुख्य लगानी पशुपालन, तरकारी खेती, फलफुल खेतीमा रहेको जानकारी गराइयो ।

साधारणसभाको उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले सहकारीलाई अझ राम्रो बनाउन सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याए । स्थानिय स्तरमा उत्पादन वृद्धि, रोजगारी सिर्जना र आत्मनिर्भरताका लागि सहकारीको भुमिका महत्वपुर्ण हुने उनको भनाइ छ । यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, वडा नम्बर १ का वडा अध्यक्ष प्रकाश हमालले मन्तव्य प्रस्तुत गर्दै सहकारीको वित्तीय स्थिति, व्यवस्थापनमा जोड दिए ।

सहकारीका अध्यक्ष चित्रा शर्माले संचालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै दमाचौर साना किसान कृषि सहकारीको कुल पुजी ८ करोड ३ लाख ५३४ रुपैया रहेको उल्लेख गरिन । आर्थिक बर्ष २०८०/०८१ मा सहकारीले ८६ लाख ७ हजार ९६० रुपैया आम्दानी गरेको छ भने ७१ लाख ९२ हजार ३५१ रुपैया खर्च गरेर १४ लाख १५ हजार ६०९ रुपैया मुनाफा गरेको छ । एक बर्षको अवधिमा सहकारीले १ करोड ९९ लाख २५ हजार ६६१ रुपैया निक्षेप संकलन गरेको छ ।

सहकारीले विभिन्न सामाजिक तथा सामुदायिक कार्यक्रमहरु संचालन गरेको जनाएको छ । मकैको बीउ बितरण, बित्तिय साक्षरता संगै पशुपालन तथा तरकारी खेती एवम कृषि क्षेत्र विकास कार्यक्रमहरु संस्था आफै र केही अन्य निकायहरुसंगको सहकार्यमा संचालन गरिएको जनाएको छ । ११४ समुहका ६८७ घरपरिवार दमाचौर साना किसान कृषि सहकारी संस्थामा आवद्ध रहेको सहकारीका फिल्ड सहायक दिपक गिरिले जानकारी दिए । यो सहकारी २०७२ सालमा स्थापना भएको थियो ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ महिला विकास सदस्य तथा सहकारीका संस्थापक अध्यक्ष देवी चन्द, हरियाली साना किसान कृषि सहकारी गंगादेव रोल्पाका अध्यक्ष राम बहादुर खत्री, उत्कृष्ट किसान छत्रेश्वरी २ का बेल बहादुर घर्तीले पनि मन्तव्य प्रस्तुत गर्दै सहकारीको महत्वको बारे चर्चा गरेका थिए ।

साधारणसभामा लेखा समिति संयोजक काली बहादुर चन्दले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै सहकारीका प्रवन्धक मिलन वलीले आर्थिक बर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम प्रस्तुत गरेको सहकारीका सहायक प्रवन्धक चन्द्रा न्यौपानेले जानकारी दिइन ।

बार्षिक साधारणसभा कार्यक्रममा वडाका जनप्रतिनिधि, विभिन्न संघ, संस्था, कार्यालयका प्रमुख प्रतिनिधि, सहकारीका विभिन्न समितिका संयोजक, सदस्यहरु लगायतको उल्लेख्य सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस