सल्यान, ३ माघ । सल्यानका एक युवाले आफ्नो जन्मदिनको अवसरमा […]
सल्यान, २२ मंशिर ।
सल्यानमा अब २१ प्रतिशत घरधुरीमा मात्रै विद्युत सेवा पुग्न बाँकी रहेको छ । नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रका अनुसार हालसम्म जिल्लाको ७९ प्रतिशत घरधुरी विद्युत सेवाको पहुँचमा पुगेका छन् । र बाँकी २१ प्रतिशत क्षेत्रमा विद्युत सेवा विस्तार गर्ने काम भइरहेको छ ।
ग्रामीण क्षेत्रका दुर्गम स्थानहरूमा विद्युत सेवा विस्तारका लागि जिल्ला भित्रका दुई नगरपालिका शारदा र बागचौर तथा ६ गाउँपालिका कपुरकोट, छत्रेश्वरी, त्रिवेणी, सिद्धकुमाख, कुमाख, र दार्मामा पूर्ण विद्युतिकरण कार्यक्रम सञ्चालन भइरहेको नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रका प्रमुख दिनेश पौडेलले जानकारी दिए । पूर्ण विद्युतीकरण ठेक्काको कार्य केन्द्रबाट भइरहेको र यसका लागि आवश्यक नयाँ लाइन विस्तार, ट्रान्सफर्मर जडान, र संरचना सुधारका कामलाई प्राथमिकतामा राखिएकोउनको भनाई छ । ८ स्थानीय तहमा पूर्ण विद्युतीकरणको लागि केन्द्रबाट १० करोड बढीको लगानीमा काम भइरहेको सल्यान वितरण केन्द्रले जनाएको छ ।
यस्तै नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयबाट एआईआईबी परियोजना अन्तर्गत बनगाड कुपिण्डे नगरपालिका र कालीमाटी गाउँपालिकाका लागि पूर्ण विद्युतिकरण कार्यक्रम सञ्चालन भइरहेको छ । यसै कार्यक्रम अन्तर्गत कालीमाटी–४ मा ३३÷११ के.भी. सबस्टेशन निर्माणाधीन अवस्थामा रहेको विद्युत प्राधिकरणले जनाएको छ । अधुरा ग्रामिण क्षेत्रमा विद्युत विस्तारको लागि शारदा र बागचार तथा कपुरकोट, छत्रेश्वरी, त्रिवेणी, सिद्धकुमाख, कुमाख र दार्मामा पुर्ण विद्युतिकरण ठेक्काको कार्य भइरहेको पनि नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रका प्रमुख पौडेलले जनाए ।
विद्युत माग २२०० किलोवाट, भोल्टेज समस्या र प्रणाली अवरोध चुनौति
सल्यानमा विद्युत सेवा वितरणका लागि तुल्सीपुरबाट आउने ३३ किलोभोल्ट राष्ट्रिय प्रशारण लाइन प्रयोग गरिएको छ । वनगाड कुपिन्डे नगरपालिकाको सल्लीबजार क्षेत्रमा सुर्खेत वितरण केन्द्रले विद्युत सेवा प्रदान गर्दै आएको छ । जिल्लाको विद्युत माग २२०० किलोवाट रहेकोमा हालको उपलब्ध संरचनाले विद्युत आपूर्ति व्यवस्था सहज रूपमा सञ्चालन गर्दै आएको पौडेलले जनाए । सल्यान जिल्लामा हाल दुई सबस्टेशन सञ्चालनमा छन् । सितलपाटी र थारमारेमा रहेका यी सबस्टेशनले विद्युत आपूर्ति गर्दै आएका छन् । यस्तै, खलंगा, सितलपाटी, लुहाम, कपुरकोट, र धारमारेमा रहेको फ्युज सेवा केन्द्रले तत्काल मर्मत सम्भारका कार्यहरूलाई सहज बनाएको कार्यालयले जनाएको छ ।
ग्राहकले नियमित रूपमा भोल्टेज कमी, सिस्टम अवरोध, र लाइन विस्तारमा ढिलाइ जस्ता समस्या भोग्नुपरेको बताउने गरेका छन् । दुर्गम स्थान र प्राकृतिक प्रकोपको प्रभावका कारण तत्काल मर्मत सम्भारमा समस्या पर्ने गरेको तथा पहाडी भूभागमा निर्माणाधीन सडकले विद्युत संरचनामा क्षति पु¥याउँदा लाइन अवरोध हुने समस्या देखिएको सल्यान वितरण केन्द्रले जनाएको छ । समस्याको समाधानका लागि नियमित रूपमा रुखको हाँगाहरू हटाउने, जोखिमयुक्त संरचनाको मर्मत, काठका पोललाई फलामका पोलमा परिवर्तन गर्ने कार्य, र नाङ्गो तारलाई सुरक्षित तारले विस्थापन गर्ने काम भइरहेको कार्यालयले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले सीमित स्रोत साधनको उच्चतम उपयोग गर्दै ग्राहकलाई सेवा उपलब्ध गराउँदै आएको दाबी गरेको छ । कार्यालय प्रमुखको निर्देशनमा विभिन्न फाँट स्थापना गरी राजस्व संकलनका लागि मोबाइल काउन्टर सञ्चालनमा राखिएको छ भने विद्युत मर्मत सम्भारका लागि विभिन्न स्थानमा फ्युज सेवा केन्द्रहरू स्थापना गरिएको कार्यालयका प्रमुख पौडेल बताउँछन् । ग्राहक र अन्य निकायहरूले आवश्यक सूचना माग गरेमा सूचना अधिकारीमार्फत जानकारी उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
भौगोलिक कठिनाइ तथा अनलाइनमा पहुँच कम
यस्तै नयाँ मिटर जडान गर्न कार्यालयमा आउने ग्राहकलाई मौज्दात उपलब्ध भएमा प्रक्रिया पूरा गरी पहिला आउनेलाई यथाशीघ्र मिटर उपलब्ध गराउने कार्य भइरहेको कार्यालयले जनाएको छ । ‘ग्राहकको सुविधाका लागि विद्युतको राजस्व संकलनमा अनलाइन प्रणाली प्रयोग गरिएको छ । यसबाहेक, कार्यालयको आय काउन्टर र तोकिएका मोबाइल काउन्टरहरूबाट पनि बिल तिर्न सकिन्छ’, कार्यालय प्रमुख पौडेलले भने । ग्राहकले नेपाल विद्युत प्राधिकरणको मोबाइल एपमार्फत गुनासो दर्ता गर्न, मिटरका विवरण लिन, र बिल भुक्तानी गर्न सक्ने व्यवस्था भएपनि भौगोलिक कठिनाइका कारण ग्राहकलाई कार्यालयमा आएर सेवा लिन समस्या पर्ने गरेको देखिन्छ । साथै, अनलाइनमार्फत बिल तिर्न स्मार्टफोन आवश्यक पर्ने हुँदा यो सुविधा सबै ग्राहकसँग उपलब्ध नभएको र यसबारे आवश्यक ज्ञानको कमी पनि देखिएको उनको भनाई छ ।
कर्णाली प्रदेश क्षेत्रमा स्थानीय जलविद्युत उत्पादन नहुँदा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत आपूर्ति हुँदै आएको छ । यसले गर्दा बेला–बेला प्रणाली अवरोध हुने समस्या आउने गरेको छ । भोल्टेज घटबढका कारण पनि बेला बखतमा ग्राहकहरूले गुनासो गर्ने गरेका छन् । शंखमुल ग्रामीण विद्युतिकरण तथा वितरक सामुदायिक संस्थाले विद्युत वितरण जिम्मा प्राधिकरणलाई हस्तान्तरण नगरेकाले त्रिवेणी र छत्रेश्वरी गाउँपालिकाका केही स्थानमा प्राधिकरणले विद्युत विस्तार, मर्मत सम्भार, र संरचना सुधार गर्न सकिरहेको छैन । यस क्षेत्रका समस्या हस्तान्तरण प्रक्रिया पश्चात मात्र सुधार गर्न सकिने सल्यान वितरण केन्द्रले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले ग्राहकको गुनासो, विद्युत माग, ट्रान्सफर्मरको लोड क्षमता र जोखिमयुक्त विद्युत लाइनहरूको पहिचान गरी मर्मत तथा स्तरोन्नतिको कामलाई निरन्तरता दिएको जनाएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा कुनै पनि विद्युत सम्बन्धी दुर्घटना नभएको जानकारी दिँदै कार्यालय प्रमुख पौडेलले दुर्घटना न्यूनीकरण गर्नका लागि विद्युत लाइनमा कार्यरत कर्मचारीहरूलाई आवश्यक सुरक्षाका उपकरण उपलब्ध गराइएको जनाए । उनले भने, ‘काठका पोलहरूलाई नयाँ पोलले प्रतिस्थापन, सुरक्षित कभर तारको प्रयोग, र जोखिमयुक्त लाइनहरूको नियमित मर्मत तथा स्तरोन्नति कार्य चलिरहेको छ ।’ भोल्टेज समस्यालाई सम्बोधन गर्न र बढ्दो लोड भारलाई ध्यानमा राख्दै ट्रान्सफर्मरहरूको क्षमता स्तरोन्नति तथा संघ, प्रदेश र स्थानीय तहले निर्माण गरेका विद्युत संरचनाहरूको जाँच गरी ती स्थानमा विद्युत आपूर्ति सुचारु गरिएको उनको भनाई छ ।
स्थानीय जीवनस्तर र आर्थिक विकासमा विद्युतको योगदान
सल्यानमा विद्युतको पहुँचले स्थानीय जनजीवनमा प्रत्यक्ष प्रभाव पारेको पनि कार्यालयले जनाएको छ । ‘विद्युतको भरपूर उपयोगबाट जनताको जीवनस्तरमा सुधार आएको छ’, कार्यालय प्रमुख पौडेलले भने, ‘विद्युतको उपयोगमार्फत नै घरेलु र साना उद्योगहरूको स्थापना सम्भव भएको छ, जसले नागरिक र राष्ट्रको आर्थिक विकासमा उल्लेखनीय योगदान दिएको छ ।’ यसैगरी विद्युतको प्रयोगद्वारा लिफ्ट खानेपानी आयोजना सञ्चालन भई यस क्षेत्रका बासिन्दाले खानेपानीको सहज पहुँच पाएको पनि उनले जनाए । उनका अनुसार कृषि क्षेत्रमा पनि विद्युतको उल्लेख्य प्रयोग भएको छ भने सिंचाईका लागि पनि सुविधा उपलब्ध गराएको छ, जहाँ विद्युत महसुल दर पनि न्यून राखिएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि विद्युतको महत्वपूर्ण योगदान रहँदै आएको उनले जनाए ।
नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले पारदर्शिताको सुनिश्चितताका लागि केन्द्रीय लेखा प्रणाली र हाजिरी प्रणाली अपनाएको छ । रिडिङ र बिलिङ कार्य अनलाइन प्रणालीमार्फत हुनेगरेको छ । कार्यालयका अनुसार ग्राहकहरूले मोबाइल एप प्रयोग गरी गुनासो गर्न, जानकारी लिन, र बिल भुक्तानी गर्न सक्ने सुविधा पाएका छन् ।
सल्यानमा तुलसीपुरबाट सितलपाटी सब–स्टेशनसम्म राष्ट्रिय प्रशारण लाइनको विद्युत संरचना जंगल र सार्वजनिक सडक हुँदै वितरण हुँदा कपुरकोटदेखि राम्रीसम्मको क्षेत्रमा सडक निर्माण र पहिरोका कारण संरचनामा समस्या देखिएको छ । त्यस्तै, बागचौरदेखि रुकुम पश्चिमसम्मको विद्युत प्रशारण लाइनमा पनि सडक निर्माण र पहिरोले बारम्बार समस्या निम्त्याउने गरेको छ । प्राकृतिक विपदका कारण उत्पन्न हुन सक्ने विद्युत संरचनाको क्षति र दुर्घटनालाई न्यूनीकरण गर्न अस्थायी रूपमा विद्युत लाइन बन्द गरेर मर्मतसम्भारका लागि प्राविधिक टोली खटाइने व्यवस्था मिलाइएको कार्यालय प्रमुख पौडेलले जनाए ।
ऊर्जा बचत अभियान र ठोस योजनाको आवश्यकता
यद्यपी सल्यान वितरण केन्द्रको छुट्टै विशेष कार्यक्रम र योजना देखिदैन । जिल्लामा उर्जा बचत अभियान पनि विशेष रुपमा संचालनमा छैन । चालु आर्थिक वर्षमा भोल्टेज समस्या भएका क्षेत्रहरू पहिचान गरी नयाँ ट्रान्सफर्मरहरू जडान गर्ने, शहरी क्षेत्रमा विद्युतको माग र खपत बढी भएकाले आवश्यकता अनुसार नयाँ ट्रान्सफर्मर जडान तथा स्तरोन्नति गर्ने, वितरण लाइनमा रहेका काठका पोललाई प्रतिस्थापन गर्ने जस्ता कार्यक्रम रहेको सल्यान वितरण केन्द्रले जनाएको छ । साथै लान्ती र शान्तिनगर बीचको प्रशारण लाइनलाई स्तरोन्नति गरिने, ग्रामीण विद्युतिकरण कार्यक्रम अन्तर्गत विभिन्न वडाहरूको सिफारिस अनुसार विद्युत विस्तारका लागि काम अघि बढाइने पौडेलले जनाए ।
नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले जिल्लाको विद्युत सेवा विस्तार र गुणस्तर सुधारमा गरेका पहलहरूलाई सकारात्मक रुपमा लिन सकिन्छ । विद्युत सेवाको पहुँचले स्थानीय जीवनस्तर र आर्थिक विकासमा सकारात्मक प्रभाव पारेको पनि छ । तर सेवा वितरण र पूर्वाधार सुधारका लागि अझै ठोस योजना र विशेष पहल आवश्यक देखिन्छ ।