सल्यानमा सडक, पुल, सरकारी भवन र जनता आवासका योजना कार्यान्वयनको चरणमा

सल्यान, ८ मंशिर ।

सल्यानमा चालु आर्थिक वर्ष २०८१।०८२ मा १७ वटा सडक निर्माण योजना सुरु हुने भएका छन् । यद्यपी गत आर्थिक वर्षमा सुरु भएका १२ वटा सडक योजना मध्ये २ वटा योजना मात्रै सम्पन्न भएका छन् । पूर्वाधार विकास कार्यालय सल्यान मार्फत कार्यान्वयन हुने १७ वडा सडक निर्माण योजना मध्ये १२ वटा योजनाहरु ठेक्का प्रक्रिया मार्फत कार्यान्वयनको चरणमा गइसकेको कार्यालयका प्रमुख सिनियर डिभिजिनल ईन्जिनीयर नविन थापाले जानकारी दिए । गत वर्ष सुरु भएर सम्पन्न भएका २ वटा सडक योजनाबाट साढे ५ किलोमिटर नयाँ कालोपत्रेको काम र साढे ६ किलोमिटर स्तरोन्नती कार्य गरिएको उनको भनाई छ ।

यस्तै जिल्लामा ७ वटा झोलुंगे पुलको निर्माणका लागि श्रोत सहमतिको लागि स्वीकृती पाउन मन्त्रालयमा पेश गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । गत वर्ष सुरु भएका ४ वटा मोटरेवल पुल मध्ये एउटा पुल यसवर्ष निर्माण कार्य सम्पन्न भएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी सागर आचार्यका अनुसार काभ्रा रामबजार शंखपिपल जोड्नका लागि शारदा नदीमा ८५ मिटर लामो प्रि–स्ट्रेस्ड पुल निर्माण भइसकेको छ भने अन्य ३ वटा पुल निर्माणाधिन अवस्थामा छन् । पुल निर्माण पश्चात नागरिकलाई आवत–आवतमा धेरै सहज भएको तथा थप अझै नयाँ पुल निर्माणको माग आएको उनको भनाई छ ।

पूर्वाधार विकास कार्यालय मार्फत जिल्लाभर ५३ वटा सरकारी भवन निर्माणका लागि मन्त्रालयमा सिफारिस गरिएको छ । जिल्ला स्थित स्थानीय तहहरुबाट भूकम्पका कारण क्षती भएका योजनाहरुको प्रस्ताव माग गरि प्राप्त सबै मागहरुको विश्लेषण तथा प्राविधिक प्रतिवेदनका आधारमा कार्याविधि अनुसारको योजना सिफारिस समितिको बैठक बसेर ४२ बटा विद्यालय र ११ वटा स्वास्थ्य चौकी भवन निर्माणका लागि मन्त्रालयमा सिफारिस गरिएको कार्यालयले जनाएको छ ।

जिल्लामा गत आर्थिक वर्षमा मात्रै जनता आवास कार्यक्रम मार्फत २६ ओटा घरहरु बनाइएको जनाउदै पूर्वाधार विकास कार्यालय सल्यानले चालु आर्थिक वर्षमा ३० वटा नयाँ आवासका लागि घर बनाउने कार्यक्रम रहेको जनाएको छ । जसका लागि बजेट व्यवस्थापन पनि भैसकेको कार्यालयको भनाई छ ।

सम्पूर्ण योजनाहरुको समयमै सुरुवात गर्नका लागि विद्युतीय माध्यमबाट टेन्डर प्रक्रिया सम्पन्न गर्ने प्रणालीलाई अवलम्बन गरिएको जनाउँदै कार्यालय प्रमुख थापाले आर्थिक सुशासन तथा पारदर्शीता कायम राख्ने प्रयत्न गरिएको उल्लेख गरे । जिल्लामा सञ्चालन भइरहेका तथा अव सुरु हुने सडक, पुल, र सार्वजनिक भवन निर्माणका योजनाहरु सम्पन्न भएमा जिल्लाको समग्र आर्थिक विकास र नागरिकको जीवनस्तर सुधार गर्न ठूलो योगदान पुग्ने विश्वास गरिएको छ । पूर्वाधार विकास कार्यालय सल्यानले कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लामा सडक, बहुवर्षीय योजना, पुल, जनता आवास कार्यक्रम र भवन निर्माण सम्बन्धी कार्यहरू सञ्चालन गर्दै आइरहेएको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस