सल्यान, २२ मंशिर । सल्यानका सामुदायीक विद्यालयमा सञ्चालन भएको साक्षरता […]
सल्यान, २९ कार्तिक ।
सल्यानको छत्रेश्वरी–२ बुंरासे टाकुरीका किसान तेज बहादुर योगीले किवि खेतीबाट आर्थिक सफलता हासिल गरेका छन् । वि.सं. २०६५ सालदेखि १०० बोटबाट किवी खेती सुरु गरेका उनको मेहनतले नतिजा दिन थालेको छ । किवी विक्रिबाट उनले वार्षिक १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । तेज बहादुर मात्रै नभई बुंरासे टाकुरीमा करिब ८०÷९० घरधुरी किवि खेतीमा संलग्न छन् । जसले यो क्षेत्रमा किवि खेतीको सम्भावनालाई उजागर गरिदिएको छ ।
सल्यान, भू–आकृति, माटो, र जलवायुको हिसाबले किवि उत्पादनको लागि राम्रो सम्भावनायुक्त क्षेत्र हो । जसले गर्दा यहाँका किसानहरुले परिश्रम र सीपको सदुपयोग गरी राम्रो आर्थिक उपार्जन गर्दै आएका छन् । सुरुमा परीक्षणका लागि लगाइएको किवीले राम्रो उत्पादन र बजार मूल्य पाउन थालेपछि बुराँसेका सबै घरधुरीले किवी खेती सुरु गरेको तेज बहादुरको भनाइ छ । थोरै लगानीबाट पनि किवी खेती गर्न सकिने भएपछि बिस्तारै व्यावसायिक खेतीमा लागेको किसानहरु बताउँछन् ।
यहाँका धेरै किसानहरुको जीवनशैली नै किवि खेतीमा आधारित भएको छ । विहान ३ बजेदेखि नै काम सुरु हुन्छ, तेज बहादुर भन्छन्, राती अबेरसम्म किवी खेतिका लागि मिहेनत गर्नुपर्छ । किवि खेतीको मेहनत भनेको केवल रोप्ने र फल्ने पर्खाई मात्र नभएर खेतीमा प्रतिदिनको ध्यान र मिहिनेतको आवश्यकता पर्ने किसानहरुको भनाई छ । गाउँमा समूह, सहकारी तथा फर्म मार्फत किसानहरुले व्यवसायीक किवी खेती गरिरहेका छन् ।
बुंरासे टाकुरीको भूगोल, माटोको गुणस्तर र अनुकूल जलवायु किवि उत्पादनको लागि अनुकूल रहेको छ । यसले गर्दा यहाँका किसानहरुले ठूलो परिमाणमा किवि उत्पादन गर्दै आएका छन् । यहाँ किसानहरुले लालिगुरास लघु उद्यम कृषक समूहमा आवद्ध भएर पनि किवि खेती गरिरहेका छन् । यसका माध्यमबाट किसानहरुले सामुहिक रुपमा वार्षिक करिब ३ करोड रुपैयाँको आम्दानी गर्दै आएका छन् । यो परिणाम स्थानीय अर्थतन्त्रको सशक्तीकरणको लागि समेत महत्वपूर्ण मानिएको छ ।
तेज बहादुर लगाएत बुरासे टाकुरीका चित्र बहादुर केसी, हिरालाल योगी, डिल्ली बहादुर केसी, चुडामणी बस्नेत लगाएतका किसानले किवि उत्पादनको दायरा फराकिलो बनाउँदै लगेका छन् । सबैभन्दा पहिले विवि खेती सुरु गरेका तेज बहादुर भन्छन्, ‘मैले अहिले ३५ रोपनी जमिनमा किवी खेति गरिरहेको छु । एक हजार ५० बोट मेरो बगैचामा छन् । यो वर्षको हाल सम्म मैले १४० क्विन्टल विक्रि गरिसकेको छु ।’ उनले शिवशक्ति वहुउद्देश्यीय कृषि नर्सरी फर्ममार्फत किवि खेति गरिरहेका छन् ।
व्यापारीहरु किवि खरिदका लागि बारीमै आउनेगरेको किसानहरु बताउँछन् । प्रतिकिलो सरदर १०० रुपैयाँ देखि १५० रुपैयाँ सम्ममा विबि विक्रि हुनेगरेको छ । सुरुमा परीक्षणका लागि लगाइएको किवीले राम्रो उत्पादन र बजार मूल्य पाउन थालेपछि बुराँसेका धेरैजसो घरधुरीले किवी खेती सुरु गरेको अर्का किसान चुडामणी बस्नेत बताउँछन् । ‘थोरै लगानीबाट पनि किवी खेती गर्न सकिने भएपछि हामीहरु यतातर्फ अग्रसर भएका हौँ,’ उनले भने, ‘मैले पनि १२ रोपनीमा खेति गरिरहेको छु । गत वर्षमात्रै किविका नयाँ १०० बोट रोपेको छु ।’ आफ्नो बगैचामा जम्मा २०० बोट रहेको र १०० बोटले फल दिइरहेको भन्दै चुडामणीले वार्षिक ३० क्वीन्टल विक्रि गर्नेगरेको र यसबाट करिव ४ लाख रुपैयाँ आम्दानी हुनेगरेको जनाए ।
किवी खेतीलाई प्रवद्र्धन गर्न किवी पकेट क्षेत्र निर्धारण गरी काम अघि बढाइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी इश्वरी नारायण घर्तीका अनुसार जिल्लाको छत्रेश्वरी २ र बागचौर नगरपालिकाको वडा नं ९ मा किवि पकेट क्षेत्र बनाएर काम भइरहेको छ । दुई क्षेत्रमा गरेर ५११ रोपनी जमिनमा किवि खेती भइरहेको भए पनि अहिले उत्पादनशिल क्षेत्र २९५ रोपनी रहेको उनको भनाई छ । कार्यालयले किवि खेती विस्तार तथा प्रवद्र्धनका लागि थ्याक्रा तथा किवि पोल बनाउन, बेर्ना लगाउन, सिंचाइको व्यवस्था गर्न गएका वर्षहरुमा विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गरेता पनि यो वर्ष कुनै कार्यक्रम छैन ।