सल्यान, २२ मंशिर । सल्यानका सामुदायीक विद्यालयमा सञ्चालन भएको साक्षरता […]
सल्यान, २३ कार्तिक ।
युवा सोच र विचारः शारदाको समृद्धिको आधार भन्ने मुल नाराका साथ सल्यानको शारदा नगरपालिकाले प्रथम शारदा युवा सम्मेलन सम्पन्न गरेको छ । युवाहरुलाई एकजुट गरी, शारदा नगरपालिकाको विकास र समृद्धिका लागि युवा सोचलाई एकजुट गर्ने तथा युवाहरुमा सकारात्मक उत्प्रेरणा दिने उद्देश्य सहित सम्मेलनको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
विहिबार श्रीनगरमा सम्पन्न सम्मेलनले युवाहरुलाई एकताबद्ध भएर समाजको समृद्धिका लागि अगाडि बढ्न प्रोत्साहित गरेको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले जनाए । युवाहरु तथा सरोकारवाला निकाय तथा संघ संस्थाका प्रतिनिधिहरुको र्यालीले श्रीनगर बजार परिक्रमा गर्दै समाजमा युवाहरुको जागरूकता र एकता प्रदर्शन गरेको थियो । युवा सम्मेलनमा युवा प्रतिनिधीलाई नै प्रमुख अतिथी बनाइएको थियो । कार्यक्रमका प्रमुख अतिथी नगरपालिका स्तरिय युवा क्लवका अध्यक्ष अस्मीता बस्नेतले युवाहरुको सामूहिक शक्तिले समाजको विकासमा ठुलो योगदान दिनसक्ने र युवाहरुको क्रियाशीलता तथ सामूहिक सक्रियता समाजको सुधारमा अनिवार्य रहेको भन्दै नगरपालिकाले युवाहरुको विकासमा विशेष ध्यान दिनुपर्ने धारणा राखिन् ।
सो अवसरमा शारदा नगरपालिकाले हाल सम्म गरेका असल कार्यकहरु तथा युवाहरुसंगको सहकार्यका सन्दर्भमा तयार पारेको भिडियो सामग्री प्रदर्शन गरिएको थियो भने सफल युवा प्रतिनिधीहरुको प्रस्तुतीकरण एवम् वृहत अन्तरक्रिया पनि गरिएको थियो ।
सम्मेलनमा बोल्दै शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले युवाहरुलाई आफ्नो क्षमता परिचालन गर्दै नगरपालिकाको विकासमा योगदान दिन आग्रह गरे । उनले भने, ‘युवा वर्ग कुनै पनि समाजको मेरुदण्ड हो, र उनीहरुको सकारात्मक सोच, कार्यक्षमता र योजनाहरुले नगरपालिकाको भविष्य उज्यालो बनाउन सक्छ । शारदा नगरपालिकालाई समृद्ध बनाउने जिम्मा तपाईँहरुको काँधमा छ ।’ उपप्रमुख सुस्मीता सापकोटा सुनारले युवाहरुले नेतृत्व लिन सके समाजमा सुधार र समृद्धिको बाटो खुल्ने कुरा उल्लेख गर्दै नगरपालिकाका राम्रा कार्यको प्रशंशा गर्न सक्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले युवाहरुको वर्तमान अवस्था, अवसर, चुनौती तथा युवा नीतिका बारे प्रस्तुतीकरण गरेका थिए । उनले युवाहरुलाई आफ्नो देशप्रतिको जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन सुझाव दिए । उनले युवाहरुको सोच, सिर्जनशीलता, र नवीनतालाई नगरपालिकाको योजना र विकासमा जोड्नुपर्ने धारणा राखे ।
यस्तै जिल्ला प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेले युवाले नकारात्मक विचार त्यागेर हरेक सकारात्मक कार्यको नेतृत्व गर्नुपर्ने धारणा राखे । उनले भने, ‘आफू को हो, आफुभित्र के छ भन्ने कुराको पहिचान गर्नुपर्याे, सबैभन्दा पहिले आफुलाइ चिन्न सक्ने हो भने पक्कै पनि आफ्नै देशमा युवाहरु सफल हुनेछन् ।’ उनले प्रहरीले युवाहरु के गरिरहेका छन् र कतै दुव्र्यशनीतर्फ लागेका त छैनन् भनेर प्रहरीले निगरानी गरिरहने भन्दै विकृति, विसंगती तथा हिंशाको विरुद्ध विशेष सचेतनामुलक कार्यक्रम सञ्चालनको तयारी रहेको उल्लेख गरे ।
कार्यक्रममा डाक्टर निरज केसीले युवाहरुका लागि उत्प्रेरक प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा अतिथीहरु राजेश कुमार शर्मा, हेमराज विक, प्राण कुमार राई लगाएतले मन्तव्य प्रस्तुत गरेका थिए । करिव एक दर्जन युवाहरुले युवा सम्मेलनको छलफलमा भाग लिँदै विभिन्न जिज्ञासा तथा सुझाव प्रदान गरेका थिए ।
प्रथम शारदा युवा सम्मेलनले शारदा नगरपालिकाका युवाहरुमा चेतना, जिम्मेवारी र नेतृत्व विकासका पक्षमा सकारात्मक सन्देश दिने अपेक्षा गरिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख लिलाधर बबालले जानकारी दिए । युवाहरुको समस्या पहिचान संगै युवा लक्षीत योजना र कार्यक्रम तय गर्न पनि यस सम्मेलनले मार्गदर्शन गरेको उनको भनाई छ । नेतृत्व गर्ने उमेर र जोश भएका युवाहरुले सानो सानो प्रयासबाट ठूला उपलब्धि हासिल गर्न सक्ने भएकाले यो सम्मेलनले युवाहरुलाई नगरको विकास र योजनामा सक्रिय सहभागी बन्न र प्रभावशाली परिवर्तनका लागि नेतृत्व लिन उत्प्रेरित गरेको शारदा नगरपालिकाको विश्वास छ ।
कर्णाली प्रदेशमा स्थानीय तहले आयोजना गरेको सम्भव त यो पहिलो अभ्यास भएको जनाउदै युवा अभियान्ता प्रकाश नेपालीले हरेक स्थानीय तहले आफ्ना पालिकामा युवाहरूको अवसर, चुनौती, र आलोचनालाई समेट्दै सकारात्मक सुझाव र सम्भावनाहरूलाई उजागर गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिए ।
सम्मेलनमा राष्ट्रिय अनुसन्धान सल्यानका प्रमुख नेव बहादुर राना, नगरपालिकाका वडा अध्यक्षहरु, अन्य जनप्रतिनिधी, पत्रकार, युवाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनीधी लगाएतको उल्लेख्य सहभागिता रहेको थियो ।