खानेपानी सेवा सहायता केन्द्र सम्बन्धि अभिमुखिकरण

सल्यान, १० असोज ।

सल्यानको छत्रेश्वरी गाउँपालिकामा आज खानेपानी सेवा सहायता केन्द्र सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा खानेपानी स्रोतको संरक्षण, उचित व्यवस्थापन, तथा दीर्घकालीन सेवा सुनिश्चित गर्न आवश्यक कदमहरूबारे अभिमुखिकरण गरिएको थियो । खानेपानी आपूर्तिका चुनौतीहरू, स्रोतको दिगोपन, र सेवाका गुणस्तरका मापदण्डहरूबारे जानकारी गराउने उद्देश्यले जनप्रतिनिधी, कर्मचारी र सरोकारवालाहरुलाइ गोष्ठीको आयोजना गरिएको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले खानेपानी नागरिकको आधारभूत अधिकार भएको बताउँदै, यसको स्थायी व्यवस्थापनका लागि गाउँपालिकाले विशेष प्राथमिकता दिइरहेको बताए । यस्तै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले खानेपानी आपूर्ति र मर्मत सम्भारमा स्थानीय स्रोत र साधनको प्रयोगलाई प्राथमिकता दिइने र यसबाट स्वच्छ पानीको पहुँच अझै प्रभावकारी हुने विश्वास व्यक्त गरिन् ।

गोष्ठीमा प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य तथा गाउँसभाका सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु, वडा सचिवहरु, वडाका प्राविधिकहरु लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सुस्वा कार्यक्रम सहयोग इकाइ सुर्खेतका वास अधिकृत धर्मराज छत्यालले खानेपानी सेवा सहायता केन्द्र सम्बन्धि अभिमुखिकरण गरेका थिए । गाउँपालिकाभित्र रहेका सम्पूर्ण खानेपानी योजनाहरुको संचालन र प्रभावकारी मर्मतसम्भारका लागि खानेपानी सेवा सहायता केन्द्रको भुमिका महत्वपूर्ण हुने सुस्वा परियोजनाका जिल्ला सल्लाहकार गुम्ब बहादुर नेपालीले बताए ।

प्रतिक्रिया दिनुहोस