त्रिवेणी गाउँपालिकाः आर्थिक र पूर्वाधार विकासमा जोड, शिक्षा र स्वास्थ्यमा सुधार जारी

सल्यान, २७ भदौ ।

सल्यानको त्रिवेणी गाउँपालिकाले आर्थिक र पूर्वाधार विकासलाइ जोड दिदै वर्षदिनमा १५५ वटा योजना सम्पन्न गरेको छ । सीमित श्रोतसाधनका बावजुध पनि स्थानीय नागरिकको आवश्यकता र मागलाई मध्यजनर गर्दै एक वर्षको अवधिमा १५५ योजना सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय नागरिकको समस्या र आवश्यकता समाधान गर्नु आफुहरुको प्राथमिकता भएको जनाउदै गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले मोटरबाटो निर्माण, खानेपानी, सिंचाइ, स्वास्थ्य, शिक्षा, सार्वजनिक संरचना निर्माण तथा धर्मसंस्कृती र पर्यटन प्रवद्र्धनमा विशेष जोड दिइएको उल्लेख गरे । विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी गराउनका लागि आगामी दिनमा जनप्रतिनिधी तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्दै समयमै योजना एवम् कार्यक्रम कार्यान्वयनका लागि विशेष ध्यान दिइएको उनले जनाए ।

त्रिवेणी गाउँपालिकाका अनुसार गत आर्थिक वर्ष २०८०।०८१ मा आर्थिक विकास तर्फ ६६ वटा र पूर्वाधार विकास तर्फ ५७ वटा योजना सम्पन्न भएका छन् । यस्तै सामाजिक विकास तर्फ २६ वटा, वन तथा वातावरण थर्फ ५ वटा र सुशासन तर्फ एउटा योजना सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले जानकारी दिए ।

त्रिवेणीले वर्षदिनमा १०.७९ किलोमिटर सडकको नयाँ ट्रयाक ओपन गरेको छ भने १४.८४ किलोमिटर सडक स्तरोन्नती र ३०० मिटर गोरेटो बाटो निर्माण गरेको छ । विद्यालय र वडा कार्यालयका लागि ३ वटा पक्की भवन, ५ वटा सार्वजनिक भवन निर्माण गरेको गाउँपालिकाले १० किलोमिटर बढी सिंचाइ कुलो निर्माण, ७ वटा खानेपानी टंकी निर्माण, २६९ घरमा धारा निर्माण लगाएतका विभिन्न कार्य सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए ।

३६५ दिन नै स्वास्थ्य सेवा, पशुजन्य उत्पादनमा राम्रो सुधार

यस्तै त्रिवेणी गाउँपालिकाले ३६५ दिन नै स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्नेगरेको छ । गाउँपालिकाभित्रका नागरिकले बिदाका दिन पनि सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भनेर यो व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । एमविविएस डाक्टर सहितको सेवा पनि दिइरहेको भन्दै त्रिवेणी गाउँपालिकाले शिक्षा र कृषिलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको छ । कृषको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाले विद्यालयमा स्थानीय पाठ्यक्रम अनुसार पठनपाठन सहित विद्यालय सुधारका कार्यक्रमलाई निरन्तरता दिएको छ ।

गाउँपालिकाबाट सञ्चालन भएका विभिन्न कार्यक्रम तथा तालिमका कारण पशुवस्तु उत्पादनमा पनि राम्रो सुधार भएको प्रमुख प्रशासकीय अधिकृत केसीको भनाई छ । उनका अनुसार त्रिवेणी गाउँपालिकामा पार्षिक चार लाख ९४ हजार ४८० लिटर दुध, १३ हजार ३०० किलो माछा, दुई लाख १४ हजार किलो मासु र चारलाख आठ हजार ४३५ गोटो अण्डा उत्पादन हुनेगरेको छ ।

 

प्रतिक्रिया दिनुहोस