छत्रेश्वरीमा अन्तरक्रिया: आत्महत्या रोकथाम बारे संवाद गरौं, दृष्टिकोण बदलौ

सल्यान, २५ भदौ ।

आत्महत्या रोकथाममा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले छत्रेश्वरी गाउँपालिकामा विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आत्महत्या रोकथाम बारे संवाद गरौं, दृष्टिकोण बदलौं भन्ने मुल नाराको साथ मंगलबार भोटेचौरमा सम्पन्न कार्यक्रममा आत्महत्या रोकथाम सम्बन्धी विभिन्न उपाय, मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्ने आवश्यकता र समुदायको भूमिका जस्ता महत्वपूर्ण विषयहरूमा छलफल गरिएको थियो।

दिवसको अवसरमा आत्महत्याको वर्तमान अवस्थाको बारे अन्तरक्रिया, कविता वाचन र सहभागी सरोकारवालाहरुबाट आत्महत्या रोकथामको लागि खेल्नुपर्ने भुमिकाको बारे मन्तव्य प्रस्तुत गरिएको सिएमसी नेपाल, प्रवर्द्धन परियोजना अन्तर्गत छत्रेश्वरी गाउँपालिका मनोसामाजिक परामर्शकर्ता गिता पहाडीले जानकारी दिइन् ।

कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले आत्महत्यालाई रोक्न आवश्यक सचेतना र परामर्श सेवा वृद्धि गर्नुपर्नेमा जोड दिए। वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढाले समयमै सही परामर्शले ठूलो भूमिका खेल्ने भन्दै मानसिक स्वास्थ्यलाई गम्भीरतापूर्वक लिनुपर्ने र पीडितलाई सहायता उपलब्ध गराउन तत्पर हुनुपर्ने धारणा राखे ।

कार्यक्रमका अन्त्यमा सहभागीहरूले आत्महत्या रोकथामका लागि विभिन्न उपाय र योजना कार्यान्वयन गर्नका लागि प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा त्रिजमावि भोटेचौरका शिक्षक रमा रेग्मी, छायाक्षेत्र स्वास्थ्य चौकीका इन्चार्ज गणेशमान डांगी, सामी कार्यक्रम प्रमुख कमला शाही, प्रहरी चौकी भोटेचौरका वरिष्ठ हवल्दार हेमराज बुढाथोकी, गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख शारदा वली, लघु उद्यम विकास शाखा प्रमुख निमा बस्नेत, मानसिक स्वास्थ्य स्वाबलम्बन समुहकी अध्यक्ष कालिका योगी, महिला स्वास्थ्य स्वयंसेवीका, विद्यार्थी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

छत्रेश्वरी गाउँपालिकासंगको साझेदारीमा फेल्म नेपालको सहयोगबाट सिएमसी नेपालद्वारा प्रवर्द्धन परियोजना संचालनमा छ । प्रबर्द्धन परियोजना संचालन भएदेखि मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको बारेमा विभिन्न जनचेतनामुलक कार्यक्रम कार्यान्वयन भैरहेका छन् । जसका कारण छत्रेश्वरी गाउँपालिकामा पहिलेको तुलनामा आत्महत्याका घटनाहरुमा कमि आएको छ भने मानिसहरू स्वास्थ्य सस्थामा गएर औषधि उपचार गराउने र मनोपरामर्श लिनुपर्छ भन्ने भाबनाको बिकास भएको छ । गाउँपालिकामा सामी कार्यक्रमले पनि मनोसामाजिक परामर्श लगायतका कार्य संचालन गर्दै आइरहेको वित्तिय साक्षरता सहजकर्ता तिलक पुन मगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस