सल्यान, २७ फागुन । सल्यानमा चौबन्दी चोली तथा डिजाइन कुर्ता […]
सल्यान, १७ भदौ ।
सिमान्तकृत समुदायको सवालहरुलाई सम्बोधन गर्दै समृद्ध समाज निर्माण गर्नुपर्ने भन्दै सल्यानमा आयोजित एक कार्यक्रमका वक्ताहरुले ग्रामिण र सिमान्तकृत क्षेत्रमा न्यायिक प्रणालीलाई विस्तार गर्नुपर्ने धारणा राखेका छन् । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला शाखा सल्यानको दोस्रो अधिबेशनको सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सिमान्तकृत समुदायले अझै पनि विभिन्न समस्या भोगिरहेको बताएका हुन् । सोमबार श्रीनगरमा आयोजित सिमान्तकृत समुदायको सवाल र न्यायीक क्षेत्रमा नागरीकको पहुँच बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले सिमान्तकृत समुदायका समस्या सम्बोधन गर्न समावेशी नीति, समान अवसर, र अधिकारको संरक्षण आवश्यक रहेकोमा जोड दिएका हुन् ।
कार्यक्रममा शारदा नगरपालिका नगर प्रमुख प्रकाश भण्डारीले शिक्षा, स्वास्थ्य, रोजगार, र न्यायमा पहुँच विस्तार गर्नुपर्नेमा जोड दिदै आफुहरुले यस विषयमा ध्यान दिएर काम गरिरहेको उल्लेख गरे ।
यस्तै बागचौर नगरपालिका प्रमुख जनकरा गौतम, शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनार, सिद्धकुमाख गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेत, छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्धा के.सी, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष टेकेन्द्र बिश्वकर्मा, प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मी लगाएतले बोल्दै सिमान्तकृत समुदायको हकहित सुरक्षित गर्न हातेमालो आवश्यक रहेको धारणा राखे । जातीय विभेद, लैङ्गिक भेदभाव, रोजगारको अभाव, गरिबी, र आर्थिक अवसरहरूको कमी निर्णय प्रक्रियामा सहभागिता र प्रतिनिधित्वको कमी, शिक्षा, स्वास्थ्यमा सिमित पहुँच जस्ता समस्या व्यहोरिरहेका समुदायलाई ध्यानमा राखेर परिणाममुखी काम गर्नुपर्ने सहभागिहरुको भनाई थियो । यस्ता वर्गलाई कानूनी अधिकार र न्यायिक प्रक्रियाको जानकारी दिन शिक्षा कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने, स्थानीय न्यायीक समितीलाई सशक्त बनाउदै निःशुल्क कानूनी परामर्श सेवा र कानूनी सहायता कार्यक्रमहरू स्थापना गरेर सिमान्तकृत समुदायलाई न्यायको पहुँचमा लैजानुपर्नेमा सहभागिहरुको जोड थियो । संघका कर्णाली प्रदेश उपाध्यक्ष भिम परियार, शिक्षाप्रेमी विर बहादुर सेजवाल लगाएतले पनि मन्तव्य प्रस्तुत गरेका थिए ।
राष्ट्रिय दलित पत्रकार संघको नयाँ कार्यसमिति चयन
यसैविच राष्ट्रिय दलित पत्रकार संघ सल्यानको नयाँ कार्यसमिति चयन भएको छ । सोमबार सम्पन्न अधिवेशनले नोखिराम थापा अध्यक्ष रहेको १३ सदस्यीय जिल्ला कार्यसमिती चयन गरेको हो । जसको उपाध्यक्ष रेमन्त बि क, सचीव पुष्कर सुनार, सहसचिव लोकेश बि क र कोषाध्यक्ष भवाना बि क रहेका छन् । सदस्यहरुमा संगम विहानी, लिला ओलि परियार, गोबिन्द कुमार बि क, बिनोद सुनार, प्रमिशा बि क, सन्तोष बिटालु, प्रज्वल महर र टिकाराम विक यस्तै केन्द्रीय पार्सदमा योगराज बिश्वकर्मा र भरत परियार तथा प्रदेश पार्सदहरुमा खेमराज सुनार, पुजा रसाइली रहेका छन् ।