दलित विकास समाजको साधारणसभा सम्पन्न, नयाँ आ.व. का लागि साढे पाँच करोड बढी बजेट

सल्यान, १५ भदौ ।

समाज सुधार र विकास एवम विभिन्न चुनौतीहरुको सामना गर्नका लागि गैर सरकारी संस्थाको भुमिका महत्वपुर्ण हुने सल्यानमा आयोजित कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । जिल्लाकै अग्रणी र नेतृत्वदायी संस्था दलित विकास समाज (डिडिएस) सल्यानको २२ औं साधारणसभा उद्घाटन कार्यक्रमका वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् ।

शारदा नगरपालिकाको साहु टोलमा आयोजित कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव दिपेन्द्र प्रकाश डिसीले सामाजिक क्षेत्र गौरवको क्षेत्र रहेको उल्लेख गरे । दलित विकास समाज सल्यान लामो समयसम्म संघर्ष गर्दै आजको अवस्था सम्म आइपुगेको सबल र सक्षम संस्था रहेको भन्दै उनले सामाजिक संघसंस्थाले समुदायमा गएर सानासाना काम गर्ने तर परिणाम ठूलो निस्कने गरेको बताए। यस क्षेत्रमा काम गरेका व्यक्ती जुनसुकै क्षेत्रमा पनि सफल हुने भन्दै उनले समुदायको शसक्तिकरण र चेतना अभिवृद्धिमा संघ संस्थाको झनै महत्वपूर्ण भुमिका हुने डिसीको भनाइ छ ।

यस्तै दलित विकास समाजका संस्थापक अध्यक्ष निम बहादुर नेपाली, संस्थाका सल्लाहकार रमेश कुमार गौतम, नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी लगायतले बोल्दै लैङ्गिक समानता, बाल विवाह, जातीय भेदभाव, र मानव अधिकारको विषयमा जनचेतना अभिवृद्धि गर्ने देखि शिक्षा, स्वास्थ्य, विकास परियोजना कार्यान्वयनमा डिडिएस सल्यानले प्रभावकारी काम गरिरहेको उल्लेख गरे ।

साधारणसभाको अवसरमा पत्रकारिता क्षेत्रबाट उल्लेखनिय रुपमा योगदान गरेको भन्दै पत्रकार शंकर केसी र संस्थाका कार्यक्रम कार्यान्वयनमा उत्कृष्ट कार्य गरेको भन्दै कर्मचारीको रुपमा गिता गिरीलाइ सम्मान गरिएको थियो ।

डिडिएसको व्यवस्थापनलाई पारदर्शी, जवाफदेही, र समर्पित बनाउने प्रयासमा रहेको भन्दै संस्थाका कार्यवाहक अध्यक्ष हेमराज बिकले संस्थाको दीर्घकालीन सफलताका लागि सबैको साथको अपेक्षा व्यक्त गरे ।

२०५८, भदौ ८ मा स्थापना भएको दलित विकास समाजले हाल ५ वटा परियोजका कार्यान्वयन गरिरहेको संस्थाका कार्यकारी निर्देशक विनायक रेग्मीले जनाए । “सम्मानित, समावेशी र अर्थपूर्ण सहभागिताः सबैखाने विभेदका विरुद्ध हामी सबैको प्रतिबद्धता” भन्ने मुख्य परिकल्पनाका साथ अघि बढिरहेको संस्थाले विधिसम्मत क्रियाकलाप संचालनका लागि २० वटा नीति, नियम निर्माण गरिसकेको उनको भनाइ छ । ११ सदस्यीय कार्यसमिती रहेको संस्थामा ३० जना कर्मचारी कार्यरत छन् ।

साधारणसभाले लेखापिरक्षण प्रतिवेद र नयाँ आर्थिक वर्षको लागि बजेट र नीति तथा कार्यक्रम पनि पारित गरेको छ । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०८०÷२०८१ मा ३ लाख ९९ हजार ९७ हजार ६८ रुपैयाँ आम्दानी र ३ करोड ५८ लाख ७ हजार २२७ रुपैयाँ खर्च गरेको छ । बाँकी रकम संस्थाको ४१ लाख ८९ हजार ८४० रुपैयाँ रहेको छ । यसैगरी आर्थिक वर्ष २०८१÷२०८२ का लागि ५ करोड ६६ लाख ४४ हजार २६८ रुपैयाँको अनुमानित आय ब्यय बजेट र नीति तथा कार्यक्रम पास गरेको वित्त तथा प्रशासन ब्यवस्थापक गुमानसिंह नेपालीले जानकारी दिए । कार्यक्रममा संस्थाका सचिव गणेश पहाडी, कोषाध्यक्ष तारा कुमारी बिक, सहसचिव लक्ष्मण परियार, पुर्व उपाध्यक्ष पुर्णिमा विक लगायतको सहभागिता रहेको थियो ।

दलित विकास समाज सल्यानले अहिले किशोर किशारी प्रजनन स्वास्थ्य परियोजना, मातृ तथा नवजात शिशु स्वास्थ्य सुदृढीकरण कार्यक्रम, बालबिबाह बिरुद्धको साझा अभियान, सामाजिक, आर्थिक न्यायका लागि समुदाय परिचालन र साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस