लेखा समूहका कर्मचारीको सरुवामा चलखेल गरेको आरोप

सल्यान, २ असोज ।

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले लेखा समूहका कर्मचारीहरुको पदास्थापना, सरुवा र काज गरेपछि चलखेल गरेको आरोप लागेको छ । प्रदेशमा कार्यरत निजामती सेवा अन्तर्गत लेखा समूहका कर्मचारीहरुको व्यापक सरुवा गरेपछि मन्त्रालय नै चलखेलको आरोप कर्मचारीहरुले लगाएका हुन् ।
मन्त्रालयले आईतबार मात्रै लेखा समूहका आठौं, सातौं, छैटौं र पाँचौ तहका ७५ जनालाई विभिन्न मन्त्रालय र कार्यालयमा सरुवा गरेको थियो । कर्मचारी सरुवा गरेको २४ घण्टा वित्न नपाउँदै मन्त्रालयले अव्यवहारिक निर्णय गरेको भन्दै कर्मचरीहरुले आक्रोश  पोखेका छन् । मन्त्रालयले नै बनाएको लेखा समूहका कर्मचारीहरुको व्यवस्थापन सम्बन्धि मापदण्ड विपरित कर्मचारीहरुको सरुवा गरेको कर्मचारीहरुको भनाई छ ।
कर्मचारीहरुको व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरीएको मापदण्डको दफा ६ मा सरुवा, पदस्थापन र कामकाजमा खटाउँदा प्रदेशको विभिन्न भौगोलिक क्षेत्रको अनुभव दिलाउने गरी कार्यबोझ, कार्य प्रकृति एवं कर्मचारीहरुको अवधि पूरा भएका कर्मचारीलाई चक्रिय प्रणालीमा सरुवा गर्नेगरी अनुसूचीमा समेत व्यवस्था गरिएको छ । तर मापदण्ड स्वीकृत तथा कार्यान्वयन गर्ने निकाय आर्थिक मामिला तथा योजना मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट कर्मचारीहरुको सरुवा गर्दा मापदण्ड, निति विधि र पद्धती विपरित आस्था दवाव र प्रभावका आधारमा गरिएको प्रति कतिपय कर्मचारीहरुले आपत्ती जनाएका छन् ।

सरुवा भएका केहि प्रतिनिधिमुलक निर्णयहरुमा व्यापक चलखेल गरेको र चार पाँच वर्ष देखि एउटै कार्यालयमा बसिरहेका कर्मचारीह्रुको सरुवा नगरेको, सुगमबाट सुगमकै अर्काे कार्यालयमा सरुवा गरिएको र मापदण्ड खण्ड ‘क’ का कार्यालयबाट ‘क’ मा नै सरुवा गरेर मन्त्रालयले चलखेल गरेको एक कर्मचारीले हामीलाई जानकारी दिए । कान्न विपरित आन्यायपूर्ण सरुवाबाट लेखा समूहका कर्मचारीहरुको मनोबल गिर्नेगरी आतंकित बनाएर समग्र सार्वजनिक प्रशासन ध्वस्त हुन गएकोले कर्मचारीहरुले चिन्ता व्यक्त गरेका छन् । कर्मचारी सरुवाको बिषयमा मन्त्रालयका कायममुकाय प्रदेश सचिवसंग प्रतिकृया लिन खोज्दा उनले अहिले जवाफ दिन नसक्ने सन्देश पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस