बागचौर नगरपालिकाको ११अाै नगरसभा सम्पन्न,आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट वक्तव्य जारी

पुजिगत खर्च भन्दा चालु खर्च दाेब्वर भन्दा बढी

असार ३०, सल्यान – सल्यानको बागचाैर नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट वक्तव्य जारी गरेको छ ।

शनिबार ११ औं नगर सभा मार्फत बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्य जारी गर्दै ७१ करोड ३७ लाख ७९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन ।

“सबल स्थानीय सरकार, समृद्धि बागचाैर नगर” भन्ने मूल नाराका साथ संचालन भएको ११ औं नगर सभाबाट आगामी आर्थिक वर्ष २०८०/०८१ मा चालू खर्च तर्फ रु.४९ करोड ३२ लाख ९६ हजार तथा पूजिगत खर्च तर्फ रु. २२ करोड ४ लाख ८३ हजार विनियोजन गरिएको छ ।
बागचाैर नगरपालिकाको ११ औं नगर सभाबाट पूर्वाधार विकास क्षेत्रतर्फ नगरपालिकाको प्रशासनीक भवनको तला थप गरि भवन निर्माणका लागि रु १ करोड ५० लाख बिनियोजन गरिएको छ । यस्तै सबै वडाहरुले आफ्नै भवनबाट सेवा प्रवाह गर्नका लागि आफ्नै भवन नभएका वडा नं. २, ५, ७, ९, र १० मा ठेक्का प्रक्रिया मार्फत कार्य संचालन भइरहेका उक्त वडाहरुका लागि वडा भवन निर्माण गर्न रु १ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ । साथै वडा नं. १ र वडा नं. ३ को वडा कार्यालय भवन निर्माणको लागि ९० लाख बिनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

नगर भित्रका १२ वटै वडाहरुको टाेलटाेलमा विद्युत विस्तार गर्ने निति अनुसार विद्युत विस्तार गरिने योजना लगिएको छ । एक घर एक धाराको निति अनुरुप खानेपानी आयोजनाहरुको निर्माण तथा मर्मत सम्भारलाई पहिलो प्राथामिकरामा राखिएको छ । जसका लागि सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वचछता (सुस्वा) परियोजनासँगको सहलागानीका लागि रु. १ करोड ३० लाख विनियोजन गरिएको छ । बागचाैर नगरपालिकाको आफ्नै स्वामित्वमा रहेको निर्माणाधिन बहुउद्देश्यीय सभाहलका लागि रु. ४० लाख बिनियोजन गरिएको छ । यस्तै, स्वास्थ्य चाैकी पेदिखोलामा बर्थिङ सेन्टर निर्माणका लागि रु.३२ लाख विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

त्यस्तै, ११ औं नगर सभामा बजेट प्रस्तुत गर्दै सामाजिक विकास तर्फ १० सैयाको आधारभुत अस्पताल निर्माण कार्यको लागि २० लाख विनियोजन गरिएको छ । सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारीहरुलाई संघीय सरकारले निर्धारण गरे बमोजिम र नगर अनुदानतर्फ कार्यरत शिक्षकहरुको लागि रु.३ करोड विनियोजित गरिएको छ । बागचाैर नगरपालिकाको समग्र शैक्षिक अवस्थालाई सुधार गर्न विशेष अनुदान अन्तर्गत रु.९० लाख विनियोजन भएको छ ।
यस्तै, ११ औं नगर सभाबाट वन वातावरण तथा विपद् व्यवस्थापनमा रु. १ करोड विनियोजन गरिएको छ । आर्थिक विकास तर्फ आर्थिक मेरुदण्ड तथा जीवन निर्वाहको प्रमुख श्रोतका रुपमा रहेको कृषि र पशु क्षेत्रमा कृषकलाई सहयोग प्रदान गरि किसानहरुलाई प्रोत्सहित गर्दै कृषि क्षेत्रमा आत्म निर्भर बनाउने लक्ष्य राख्दै कृषकहरुलाई उन्नत बीउ, विजन तथा किटनाशक औषधी उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरिएको छ ।
यस्तै, पशुतर्फ आकस्मिक रोग नियन्त्रण, समुह तथा सहकारीलाई प्रजननयोग्य बोका रागा खरिद, हिउँदे र बहुबर्षे घाँसको बिउ, बेर्ना वितरण जस्ता कार्यक्रमहरुको लागि आवश्यक बजेट बिनियोजन गरिएको छ ।
त्यस्तै, श्रम तथा रोजगार, सामाजिक विकास, शिक्षा, खेलकुद, स्वास्थ्य, खानेपानी, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, कला साहित्य, संस्कृती, सुशासन तथा संस्थागत विकास, सूचना सञ्चार तथा प्रविधि, न्याय तथा कानुन, वित्तीय व्यवस्था लगायतका क्षेत्रमा समेत बजेट विनियोजन गरिएको छ । साथै कार्यक्रममा खानेपानी मुहान दर्ता विधेयक सर्वसम्मत पास गरि स्थानिय पहिचान सहितको बागचौर नगरपालिकाको लोगो समेत सार्वजनिक गरिएको छ ।

११ औं नगर सभाको बजेट भाषण कार्यक्रममा बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, निमित्त प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम, नगर सभाका सदस्यहरू, पत्रकार, सुरक्षा निकाय, कर्मचारी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन बागचौर नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत अनन्त कुमार गाैतमले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस