काठमाडौंमा २४ सै घण्टा निःशुल्‍क एम्बुलेन्स

काठमाडौँ — चार वर्षअघिदेखि सुरु गरेको निःशुल्क एम्बुलेन्स सेवालाई काठमाडौं महानगरपालिकाले निरन्तरता दिने भएको छ । मेयर बालेन्द्र शाहले सेवा लिनका लागि १०२ नम्बरमा कल गर्न आग्रह गरेका छन् । २०७६ सालमा तत्कालीन नगर प्रमुख विद्यासुन्दर शाक्यले सुरु गरेको यो सेवा लिएबापत कसैले पनि शुल्क तिर्नुपर्दैन ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले ‘नेपाल एम्बुलेन्स’ नामक गैरसरकारी संस्थासँग सहकार्य गरेर उक्त सेवा निःशुल्क दिइरहेको जानकारी दिए । उनले भने, ‘हामीले नेपाल एम्बुलेन्सलाई सञ्चालन खर्च दिन्छौं । त्यसबापत उक्त संस्थाले निःशुल्क एम्बुलेन्स सेवा दिन्छ ।

नेपाल एम्बुलेन्स सेवाका प्रमुख कार्यकारी अधिकृत अमित जोशीका अनुसार हाल महानगरले १० वटा एम्बुलेन्स सञ्चालन गर्ने खर्च उपलब्ध गराउँदै आएको छ । ‘हामीसँग भएका १६ वटा एम्बुलेन्समध्ये १० वटा एम्बुलेन्सको खर्चबापत महानगरले मासिक १२ लाख रुपैयाँ दिने गर्छ,’ , ‘आकस्मिक सेवा निःशुल्क हुनुपर्छ भनेर हामीलाई विभिन्न क्षेत्रबाट प्राप्त सहयोगबाट यो सेवा दिन्छौं । अपुग रकम महानगरले दिँदै आएको छ ।’

एउटा एम्बुलेन्सका लागि ३ वटा चालक र ३ जना स्वास्थ्यकर्मी राखिएको जोशीले बताए । मासिक इन्धनलगायत अन्य खर्च जोड्दा एउटा एम्बुलेन्स सञ्चालन गर्न मासिक २ लाख रुपैयाँ खर्च आउने उनले बताए । ‘त्यो बोहक नपुग रकम १ लाख २० हजार एउटा एम्बुलेन्सबापत महानगरले सहयोग गर्छ,’ जोशीले भने ।

यस्तै, महानगरका मेयर बालेन्द्र शाहले केही दिनअघि एम्बुलेन्स सेवा सञ्चालनका लागि अन्य निकायसँग सहयोग नलिन आग्रह गर्दै महानगर आफैंले खर्च बेहोरिदिने आश्वासन दिएको उनले बताए । उनले यस सम्बन्धमा महानगरलाई आशयपत्र तथा विस्तृत विवरण पठाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस