एमालेका उम्मेदवारहरु एजेन्डा प्रस्तुत गर्दै भोट माग्न व्यस्त

सल्यान, २० कार्तिक ।

सल्यानमा नेकपा एमालेका उम्मेदवारहरु मतदाताहरुमाझ आफ्ना एजेन्डा प्रस्तुत गर्दै भोट माग्न व्यस्त भएका छन । उम्मेदवारहरुले आइतबार सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ५ र ६ का मतदाताहरुसंग भेटघाट गरेका हुन । सल्यानबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेन्द्रबिर राय, सल्यान (ख) बाट प्रदेशसभा सदस्य पदका उम्मेद्वार गुलावजंग शाह, समानुपातिक उम्मेद्वार राधा सुनारले मत माग्दै आफुहरुको प्राथमिकता विकास र समृद्धि रहेको बताए ।

कपुरकोट ५ जामुनेमा भएको कार्यक्रममा सल्यानबाट नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार राजेन्द्रबिर रायले आफ्ना प्रतिष्पर्धिहरुले छल र धोकाको राजनिती गरिरहेको बताए ।

उनले एकीकृत समाजवादिका उम्मेद्वार प्रकाश ज्वालाले आफ्नो स्वार्थ पूरा गर्न जे कदम पनि चाल्न सक्ने भन्दै प्रलोभनमा नपर्न आग्रह गरे । सल्यान र दांगको ईतिहास देखिको नंग र मासुजस्तो सम्बन्धलाइ लत्याउदै ज्वालाले आफ्नो स्वार्थ पुर्तिका लागि सल्यानलाइ कर्णाले प्रदेशमा गाभ्नका लागि घिनलाग्दो भुमिका खेलेको आरोप लगाए । उनले भने,- सल्यानका चेलिहरु दांगमा छन, उताका चेलिबेटी यता छन । जग्गा जमिन, व्यापार व्यवसाय हरेक हिसाबले सल्यान र दांगको सम्बन्ध छ । यसलाइ टुटाउने गरि सल्यानिमाथी छल गरियो, अन्याय गरियो । यसलाइ बुझ्न जरुरी छ । उम्मेद्वार रायले प्रलोभनमा परेर दिग्भ्रमित भएर अमुल्य मत गलत स्थानमा नदिन आग्रह गर्दै त्यसो भयो भने परिणाम दुखद आउने र भावी सन्ततिहरुलाइ धोका हुने जिकिर गरे ।

यस्तै एमाले पोलिटब्युरो सदस्य तथा प्रदेशसभा सदस्य पदका लागि सल्यान (ख) का उम्मेद्वार गुलाबजंग शाहले हालको गठबन्धन मुलुकको चाहनाविपरीत भएकाले दीर्घकालीन नहुने निश्चित रहेको बताए । आर्थिक समृद्धि, किसान, विपन्न वर्गको हित तथा स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगार, सडक, बत्ती बिजुलीको विकासमा कटिबद्ध भएर काम गर्ने बताए । चुनाव जितिसकेपछी गाउँ नफर्कने स्वभाव आफ्नो नभएको बताउंदै सम्भावना नै सम्भावनाले भरिएको सल्यानलाइ उजागर गर्नका लागि एमाले संग स्पष्ट योजना रहेको बताए ।

यस्तै समानुपातिक उम्मेदवार राधा सुनारले देशको हितका लागि डटेर लड्ने पार्टी एमालेलाइ अझै बलियो बनाउन सुर्य चिन्हमा मतदान गर्न आह्वान गरिन । कार्यक्रममा नेकपा एमाले सल्यानका उपाध्यक्ष भिम बहादुर सेनले गाउँगाउँमा विकासको लहर ल्याउन एमालेलाइ जिताउनुपर्ने बताए ।

चुनावी भेटघाट कार्यक्रममा नेकपा एमाले सल्यानका जिल्ला कमिटी सचिवालय सदस्य घनश्याम शर्मा लगायत जिल्ला कमिटी सदस्यहरु, पालिका कमिटी पदाधिकारीहरु तथा युवा संघका नेताहरु लगायतको सहभागिता थियो ।

कपुरकोट ६ को रातामाटा, छायांनाथ, जलवांग, कपुरकोट ५ को रिम सितलबजार, जामुने लगायतका स्थानमा मतदाताहरुसंग भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस