विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा आन्दोलनका कार्यक्रम घोषणा

२०७९,जेष्ठ,२३

काठमाडौं । जनसरोकारका विषयलाई अघि सार्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

पार्टीले सोमबार एक विज्ञप्ति जारी गर्दै विदेशी हस्तक्षेप बढेको तथा महँगी र भ्रष्टाचारले सीमा नाघेको भन्दै जेठ २५ देखि असार ५ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हाे ।

प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जारी गरेको विज्ञप्तिमा जेठ २५ गते किसानहरुले राजमार्ग, काठमाडौं उपत्यकासहित देशव्यापी विरोध प्रदर्शन गर्ने र जेठ २७ गते अमेरिकी साम्राज्यवादी हस्तक्षेपविरुद्ध देशव्यापी विरोध प्रदर्शनका कार्यक्रम रहेको जनाएका छन् ।

त्यस्तै जेठ ३० गते एमसीसीका कार्यालय र जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र घेराउ, असार २ गते राजबन्दी रिहाइको पक्षमा देशव्यापी मसाल जुलुस र असार ५ गते महँगी र भाडा वृद्धिविरुद्ध देशव्यापी विरोध प्रदर्शनका कार्यक्रम राखिएको प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो पार्टीले देश र नेपाली जनताको जीवनमा पैदा भएका गभीर समस्याको समाधानार्थ तत्कालीन र दीर्घकालीन मुद्दालाई लिएर संघर्ष गर्नुको विकल्प जनताका अगाडि नरहेको जनाएको छ ।

साथै चुनावी व्यापारले दलाल संसदीय व्यवस्थाको पाखण्डीपना, जालसाजी, जनविरोधी चरित्र र संसदीय व्यवस्थाको असफलताको पुनः पुष्टि गरेको पनि बताएको छ ।


नेत्रविक्रम चन्द -विप्लव

नेत्रविक्रम चन्द -विप्लव

प्रतिक्रिया दिनुहोस