कालीमाटीमा चुनावी प्रचारमा हिँडेका युवाको गाडीको छतबाट खसेर मृत्यु

२४ वैशाख २०७९, शनिवार

सल्यान — जिल्लाको कालिमाटी गाउँपालिकामा नेपाली कांग्रेसको प्रचारप्रसार गर्न गाडीको छतमा चढेका युवाको खसेर मृत्यु भएको छ । स्थानीय तहको निर्वाचनका लागि प्रचारमा हिँडेका १८ वर्षीय खुमराज थापाको लु १ ज ४५९९ नम्बरको जिपबाट खस्दा मृत्यु भएको हो ।

कालीमाटी गाउँपालिका २ दानिगौरामा जिपको छतबाट खसेर सख्त घाइते भएको थापाको उपचारका क्रममा तुलसीपुर अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार उनको टाउकोमा गहिरो चोट लागेको थियो । घाइतेको मृत्युपछि अहिले गाडी र बबई गाउँपालिका २ दाङ घर भएका वर्ष २८ का चालक खुमबहादुर छन्त्याललाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खड्काले जनाए ।

थापा कांग्रेसको स्थानीय वडाका उम्मेदवार भूपेन्द्र घर्तीमगर चढेको जिपको छतमा बसेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस