कपुरकोटका सबै वडामा र्याली तथा विभिन्न प्रतियोगिताका साथ मनाईयो श्रमिक महिला दिवस

सल्यान, २४ फागुन २०७८

महिलाका हकहित, सुरक्षा र अधिकारका लागि भन्दै सल्यान कपुरकोट गाउँपालिकाको सबै वडामा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । गाउँपालिकाको ६ वटै वडामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसर पारी विभिन्न कार्यक्रमको आयोजना गरिएको हो । ३ नम्बर वडा कार्यालयको आयोजनामा र्याली समेत निकालिएको थियो भने ६ वटै वडाहरुमा घैटा फोड, लोक गीत लगाएतका प्रतियोगिता पनि सम्पन्न गरिएको महिला तथा वालवालिका शाखाले जनाएको छ ।

३ नम्बर वडाका कार्यवाहक वडा अध्यक्ष प्रदिप खड्काको अध्यक्ष्षतामा कपुरकोटमा भएको कार्यक्रममा प्रमुख अतिथी कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले महिलाहरुलाई सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रमा अग्रसर गराएर अगाडि बढ्नुपर्नेमा जोड दिए । महिला हक हित र महिला हिँसाको बारेमा नियम कानून र बहसले मात्र नपुग्ने भन्दै अध्यक्ष सेनले सामाजिक जनचेतना, मानसिक बिकास र रुढिबादी सोचलाई पनि घर परिवार र समाजबाटै परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए ।

यस्तै विशिष्ट अिितथी कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले पुरातनबादी सोच र पुरुषबादी मानासिकतालाई हटाएर मात्रै नारि मुक्ति कायम राख्न सकिनेमा जोड दिइन् । वडा सदस्य तुल्सी केसी विकको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा कपुरकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर शाही, कार्यपालिका सदस्य ठकवीर कामी, वडा नम्बर ३ का वडा सदस्य टिकाराम बुढाथोकी, नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शंकर केसी, नेकपा एमाले कपुरकोट गाउँपालिकाका अध्यक्ष द्रोण केसी, नेपाली कांग्रेसका भुप बहादुर यरी, माओवादी केन्द्रका पवन कार्की, नेकपा समाजवादीका भुवनेश्वर गौतम, कालिका मावि कपुरकोटका प्रअ चुडामणी केसी लगाएतको उपस्थिति थियो ।।

प्रतिक्रिया दिनुहोस