एक दर्जन बढी जलविद्युत् कम्पनीको सेयर आउँदै

सबै कम्पनीले सर्वसाधारण र स्थानीयका लागि सेयर निष्कासन गर्दै सेयर बजारमा जलविद्युत् समूहको हिस्सा करिब ९ प्रतिशत

३,असोज| निकट भविष्यमै डेढ दर्जन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । ती कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति दिइसकेका छन् ।



यी कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले सेयर निष्कासन गर्न लागेका हुन् । बोर्डबाट अनुमति पाएपछि ती सेयर बजारमा आउनेछन् । बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्छ ।

हाल विभिन्न क्षेत्रका २० कम्पनीको प्राथमिक निष्कासन बजारमा आउँदै छ । तीमध्ये १२ वटा जलविद्युत् कम्पनी, ४ वटा लघुवित्त र दुई/दुईवटा बिमा र ‘अन्य’ क्षेत्रका कम्पनी छन् । हाल सेयर निष्कासन अनुमति प्रक्रियामा रहेका कम्पनीमध्ये धेरैजसोले स्थानीय र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेका हुन् । बोर्डको सूचीअनुसार विभिन्न क्षेत्रका २० कम्पनीले ५ अर्ब ९० करोड ७७ लाख ५५ हजार रुपैयाँ बराबरको ५ करोड २३ लाख ५७ हजार कित्ता सेयर निष्कासन गर्दै छन् ।

सेयर बजारमा ४० वटा जलविद्युत् कम्पनी सूचीकृत छन् । यो आर्थिक वर्ष यस्तो संख्या बढेर ६० भन्दा बढी पुग्ने देखिन्छ । सेयर निष्कासन गरिसके पनि सूचीकृत नभएका, निष्कासन तयारीमा रहेका र निष्कासन अनुमतिका लागि आवेदन दिएका कम्पनी संख्या हेर्दा चालु आर्थिक वर्षभित्रै सेयर बजारमा सूचीकृत कम्पनी चार दर्जनभन्दा बढी पुग्ने देखिएको हो ।

नेपालमा निर्माणको चरणमा धेरै जलविद्युत् कम्पनी रहेकाले पनि पछिल्ला दिनमा सेयर जारी गर्नेमध्ये धेरै जलविद्युत् कम्पनी देखिएका छन् । सेयर बजारमा सूचीकृत कुल कम्पनीमध्ये जलविद्युत् समूहको हिस्सा औसत ८.९ प्रतिशत मात्र छ । सूचीकृत कम्पनी संख्या बढेपछि कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा थपिनेछ । लगानीकर्ताले पनि लगानी विविधीकरण (पोर्टफोलियो म्यानेजमेन्ट) सुविधा पाउने जानकारहरू बताउँछन् ।

जलविद्युत् कम्पनीले कम्तीमा १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयलाई दिनुपर्छ । स्थानीयलाई सेयर बाँडफाँटपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्नुपर्छ । नयाँ व्यवस्थाअनुसार जलविद्युत्लगायत उत्पादनमूलक क्षेत्रका कम्पनीले आयोजना प्रभावितबाहेक थप कम्तीमा १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्नुपर्छ । लामो समयदेखि सेयर बजारमा वित्तीय क्षेत्रको प्रभुत्व रहँदै आएको छ । तीन/चार वर्षअघिसम्म पनि कुल सूचीकृत कम्पनीमध्ये ८० देखि ८५ प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको थियो । यही कारण राष्ट्र बैंक र बिमा समितिका ससाना निर्देशनले पनि सेयर बजार नराम्ररी प्रभावित हुँदै आएको छ । तर, पछिल्ला महिनामा वित्तीय संस्था र बिमा कम्पनीको हिस्सा दोस्रो बजारमा बिस्तारै घट्दो छ । जलविद्युत्लगायत अन्य क्षेत्रको बढ्दो छ । सोही क्रममा गत असारसम्म नेप्सेमा कुल सूचीकृत कम्पनीमध्ये वित्तीय संस्था र बिमाको हिस्सा ६८.९ प्रतिशत छ ।

पछिल्ला वर्षमा सेयर बजारमा अपेक्षित रूपमा उत्पादनमूलक (वास्तविक) क्षेत्रका कम्पनी भित्र्याउन नसकेको आरोप सरकार र नियामक निकायलाई लाग्ने गरेको छ । जलविद्युत् कम्पनीको संख्या बढेसँगै सेयर बजारमा वित्तीय क्षेत्रका कम्पनीको प्रभुत्व घट्ने जानकारहरूको भनाइ छ ।

आवेदन दिएका जलविद्युत् समूहका कम्पनीमध्ये सयपत्री हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, अपर हेवाखोला हाइड्रोपावर, मोलुङ हाइड्रोपावर, रिभर फल्स पावर, थ्री स्टार हाइड्रोपावर, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, दोर्दीखोला जलविद्युत्, बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालयन हाइड्रोपावर लिमिटेड, बलेफी हाइड्रोपावर र ग्रिन भेन्चर लिमिटेड कम्पनीले स्थानीयवासी र सर्वसाधारण दुवैका लागि सेयर ल्याउन लागेका छन् । तीमध्ये बिन्ध्यवासिनी, हिमालयन, बलेफी र ग्रिन भेन्चरको आवेदनमाथि धितोपत्र बोर्डले प्रतिक्रिया पनि पठाइसकेको छ । बाँकी कम्पनीको आवेदन प्रारम्भिक अध्ययनको चरणमा रहेको जनाइएको छ ।

सेयर निष्कासनका लागि आवेदन दिएका कम्पनीमध्ये लघुवित्त समूहबाट जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था र एनईएसडीओ समृद्ध लघुवित्त वित्तीय संस्था छन् । बिमा समूहका रिलायबल लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स कम्पनी छन् । इमर्जिङ नेपाल र डिस मिडिया नेटवर्कले पनि सर्वसाधारणका लागि सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस