सल्यानमा पनि धमाधम विद्यालय खुल्दै

१७ भदौ २०७८, बिहिवार

१७ भदौ,सल्यान|| सल्यानमा कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै बन्द गरिएका विद्यालय धमाधम खुल्न थालेका छन ।

कोभिड–१९ संक्रिय सक्रमितको अवस्थालाई ध्यानमा राखेर कोभिड संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८ अनुसार सम्बन्धित प्रशासन तथा स्थानीय निकायको अनुमतिमा शैक्षिक संस्थामा भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको हो ।

सल्यानमा स्थानीय तहहरुले पनि शिक्षक र अभिभावकसँग सल्लाह गरेर भौतिक कक्षा सुरु गरेका हुन् । कक्षा तथा बिद्यार्थिहरुको संख्याका आधारमा आलोपालो सिस्टममा पढाई भईरहेको छ ।

सल्यानमा हाल संक्रमणको जोखिम कम रहेको र कतिपय स्थानिय तहमा जोखिम शुन्य  सरह रहेको छ ।

लामो समय विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइमा ठूलो क्षति पुगेको र बिद्यालय खोल्ने सन्र्धवमा स्थानिय तहलाई जिम्मा दिएकाले जोखिम कम भएका स्थानिय तहहरुमा स्वास्थ्य मापदण्डलाई पालना गर्दै भौतिक उपस्थितिमा नै पठनपाठन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी होमागाईले बताउनु भयो ।

स्थानीय तहले धमाधम स्कुल सञ्चालनको निर्णय गर्न थालेपछि शिक्षा मन्त्रालयले पनि जोखिमको अवस्था हेरेर विद्यालय खोल्नुपर्ने निष्कर्षमा पुगेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पनि विद्यालय सञ्चालनका विषयमा कार्ययोजना माग गरेको छ। जस अनुसार सरकारले गर्ने लकडाउनको चार प्रकृति अनुसार पठनपाठनका गतिविधि अघि बढाउन सकिने गरी मन्त्रालयले कार्ययोजना तयार पारेर सीसीएमसीमा पेस गरेको छ । हार्ड (रातो),मिक्स्ड (गाढा पहेंलो), सफ्ट (हल्का पहेंलो) र मिनिमल (हरियो) कुन क्षेत्रमा कसरी शैक्षिक गतिविधि सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख गरिएको हो ।

जसअनुसार रातो क्षेत्रमा प्रधानाध्यापकसहित केही शिक्षक आलोपालो विद्यालय आउने र विद्यार्थीलाई वैकल्पिक माध्यमबाट पठनपाठन गराउने प्रस्ताव गरिएको छ । गाढा पहेंलो क्षेत्रमा ५० प्रतिशत शिक्षक विद्यालयमा उपस्थिति भएर विद्यार्थीलाई समूहअनुसार सिकाइ सहजीकरण गर्ने तयारी छ । हल्का पहेंलो क्षेत्रमा शिक्षक विद्यालयमा उपस्थित भई विद्यार्थीलाई सिकाइ सहजीकरण गर्ने उल्लेख छ ।

विद्यार्थीलाई पनि स–साना समूह बनाएर मात्रै सिकाइ सहजीकरण गर्नुपर्ने योजना बनाइएको छ । हरियो क्षेत्रमा विद्यालय पुनः सञ्चालन कार्य ढाँचाअनुसार भौतिक उपस्थितिमा नै पठनपाठन सञ्चालन गर्न सकिने कार्ययोजनामा उल्लेख छ । संक्रमणको जोखिम नरहेको वा कम रहेको स्थानमा आलोपालो सिफ्ट वा अन्य विधि प्रयोग गर्न सकिनेछ ।



प्रतिक्रिया दिनुहोस