तुलसीपुर उप–महानगरको नीति कार्यक्रम

६,असार २०७८, आइतवार

६,असार| तुलसीपुर उप–महानगरपालिकाले नियमित उडानदेखि खुल्ला सरकारसम्मको नीति तथा कार्यक्रम ल्याएको छ । उप–महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको छ ।

उपमहानगरपालिकाको समग्र विकास, आत्मनिर्भर, समाजवादउन्मुख, सुन्दर र नमूना शहर बनाउने लक्ष्यका साथ नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । उपमहानगरको ९औं नगरसभामा नगर प्रमुख घनश्याम पाण्डेले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । उपमहानगरको नीति कार्यक्रम ३ सय ८७ बुँदामा समेटिएको छ । कृषि उत्पादन बढाउन दक्ष जनशक्ति सेवा (बिमा, तालिम, बीउ बिजन) र पूर्वाधारको विकास तथा विस्तार, कृषि विद्युत् मिटर प्रयोग गरी सिँचाई गर्ने कृषकहरुलाई फागुनदेखि जेठसम्मको विद्युत् महशुल १०० प्रतिशत छुट गरी मकै, घाँस र बेमौसमी खेतीलाई प्रवद्र्धन गरिने उल्लेख छ । प्रत्येक वडामा कृषि तथा पशु सेवा इकाई स्थापना गरी एक वडा एक प्राविधिकको व्यवस्था गरिने उल्लेख छ ।

‘पशुपंक्षीको नश्ल सुधार, आम्दानी र रोजगारीको आधार’ भन्ने अभियान अन्तर्गत नश्ल सुधारका लागि कृतिम गर्भाधारण कार्यक्रमलाई निःशुल्क र प्रभावकारी बनाउने र पशु उपचारका लागि आवश्यक औषधिहरु निःशुल्क रुपमा उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ । कृषकसँग पशु स्वास्थ्यकर्मी स्थलगत भेटघाट कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । त्यसैगरी आगामी वर्षमा सडक, शिक्षा, सिँचाई, खानेपानी र विद्युत्लाई प्राथमिकता दिइएको छ ।

नीति तथा कार्यक्रममा विमान स्थललाई स्तरोन्नति गर्दै नियमित हवाई उडान सञ्चालन गर्ने र विमानस्थलमा अन्तर्राष्ट्रियस्तरको पाइलट शिक्षण गर्ने एभिएसन कलेज सार्वजनिक र निजी सहकार्यमा सञ्चालन गर्ने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा २५ वर्षे दीर्घकालीन रणनीतिक योजनाले दिशाबोध गरेका स्मार्ट सिटी, जनशक्ति विकास केन्द्र स्थापना, सामुदायिक पुस्तकालय, मनमोहन गणेशमान विज्ञान तथा प्रविधि क्याम्पस, मेडिकल कलेज सञ्चालन, बाल अस्पताल सञ्चालन, मेट्रो हस्पिटल सञ्चालन, ज्येष्ठ नागरिक अस्पताल, क्रान्ति संग्रहालय, स्पोर्ट सिटी, तुलसीपुर चक्रपथ, पर्यटकीय गन्तव्यको शहर, औद्योगिक ग्राम, बेलझुण्डी ट्विन टावर, स्मार्ट स्याटेलाइट शहर र मेट्रो रेल सञ्चालनका काम सार्वजनिक, निजी साझेदारीका माध्यमबाट सम्पन्न गरिने उल्लेख छ ।

नगर प्रमुख पाण्डे प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छिल्लीकोट केबलकार स्थापनाका लागि अध्ययन भइसकेकाले यसैवर्ष यसको डीपीआर तयार गरिने कोरोना महामारीले सिकाएको पाठलाई मध्यनजर गरी आगामी वर्ष स्वास्थ्य सेवा, समृद्धिको लक्ष्य, आर्थिक र सामाजिक पुर्नलाभ, शिक्षा, कृषि, तथा पशु सेवा, खानेपानीमा प्राथमिकता साथ बजेट व्यवस्था गरिने बताए । त्यस्तै विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्यलाई चुस्त–दुरुस्त बनाउँदै खोज, उद्धार, परिचालन, पुर्नलाभ, सूचना प्रणाली व्यवस्थापनजस्ता कार्यहरुलाई तत्काल सञ्चालन गरी जनधनको क्षतिलाई न्यूनीकरण गरिने, आधुनिक तथा व्यावसायिक कृषि तथा पशुपालनका माध्यमबाट खाद्य सुरक्षाको सुनिश्चितता र पर्यापर्यटनको विकास गरी आर्थिक वृद्धि तथा रोजगार सिर्जना गरिने नीति कार्यक्रम ल्याइएको छ ।

यस्तै उप–मानगरपालिकाले खुला सरकार कार्यक्रमको अवधारणा अनुसार कार्य गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । उप–महानगरपालिकाले सञ्चालन गर्ने सबै कार्यक्रम, नीति, खर्च सार्वजनिक गरिने र नियमित सार्वजनिक सुनुवाई र सामाजिक परीक्षण गर्ने व्यवस्था मिलाइने नीति कार्यक्रममा राखिएको छ ।

आधारभूत तथा गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा तथा खानेपानी सेवामा न्यायोचित पहुँच एवं लक्षित वर्गको सशक्तीकरण गरी समावेशी तथा समतामूलक नगर निर्माण गरिने, सडक, पुल, विद्युत्, सञ्चारको योजनावद्ध विकाससहितको व्यवस्थित बस्ती विकास र यातायातमा सहजता ल्याई स्मार्ट शहरको रुपमा तुलसीपुरको विकास गरिने र वन, जैविक, जलाधार, विपद् जोखिम न्यूनीकरण, जलवायु अनुकूलन तथा फोहरमैलाको समुचित व्यवस्थापन सम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयन गरी विपद् उत्थानशील समाजको निर्माण गरिने छ । आगामी वर्ष बजेटलाई लक्ष्य, उद्देश्य र परिणाममुखी बनाइने र साना–साना टुक्रे आयोजनामा भन्दा ठूला, बहुवर्षीय आयोजनामा बजेट व्यवस्था प्राथमिकता दिइने मुुख्य नीति तथा कार्यक्रम पेश गरिएको छ ।

भू–उपयोग नीति निर्माण गरी जग्गाको वर्गीकरण गरी कृषि उत्पादनको पकेट क्षेत्र निर्धारणलाई निरन्तरता दिइने, उन्नत बीउ बिजन उत्पादनका लागि बीउबिजन उत्पादन केन्द्रको स्थापना गरिने, जग्गा बाँझो नराख्ने नीतिलाई निरन्तरता दिँदै बाँझो खेतीयोग्य जमिनमा खेती प्रणाली बिस्तार गर्न भूमि बैंकको प्रक्रियालाई अघि बढाइनुका साथै नगर क्षेत्रमा माटो परीक्षणको प्रयोगशाला स्थापना गरी माटो अनुकूल खेती प्रणालीलाई विविधिकरण गरी कृषि उत्पादनको वृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

हरियो घाँसमा आधारित पशुपालनलाई प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा बर्षे/हिउँदे घाँसको बीउ उपलब्ध गराउने कार्यक्रम ल्याइने छ । कोरोना महामारीले रोजगारी गुमाएका व्यक्तिलाई उनीहरुको योग्यता, सीप, क्षमता र अनुभवको आधारमा वर्गीकरण गरी प्रधानमन्त्री रोजगार कार्यक्रमसँग समन्वय गरी रोजगार उपलब्ध गराइने नीति तथा कार्यक्रमले समेटेको छ ।

शिक्षामा कोरोना महामारीले गर्दा अफ्ठेरोमा परेका संस्थागत विद्यालयहरुलाई लक्षित गरी उप–महानगरपालिकाले लिने व्यावसायिक तथा नवीकरण शुल्क र घर भाडा करमा सहुलियतका लागि पहल गरिने र प्रत्येक सामुदायिक विद्यालयमा एक विद्यालय–एक स्वास्थ्यकर्मीको व्यवस्था गरिने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस