कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले लेखा समूहका कर्मचारीहरुको […]
जेष्ठ ३०,सल्यान । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टको सङ्क्रमण दिनानुदिन बढ्दै गएको बेला सल्यानमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य आकासिएको छ ।
जिल्ला प्रशासन कार्यालय सल्यानले कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गरी सामुदायि कस्तरमा फैलिन नदिन जिल्लाभरि निषेधाज्ञा जारी गरेसँगै जिल्लाका व्यापारीहरुले आफूखुसी खाद्यान्नसहित अन्य दैनिक उपभोग्य वस्तुमा कृत्रिम मूल्य वृद्धि गरेका हुन् ।
निषेधाज्ञाको कारण साँझबिहान छाक टार्न मुश्किल हुनसक्ने चिन्ताले सताइरहेको बेला एकाएक सबैखाले उपभोग्य सामग्रीको बजार भाउ बढेपछि सर्वसाधारण चिन्तित बनेका छन् । दाङ तथा नेपालगन्जका थोक व्यापारीहरुले नै सामानको मूल्य बढाएपछि बाध्य भएर आफूहरुले पनि मूल्य बढाएको साना तथा खुद्रा व्यापारी बताउछ्न ।
बजारमा अहिले खानेतेल चामल, दाल, चनादेखि प्याकिङ गरिएका खाद्य वस्तुहरुमा मूल्य वृद्धि भएको छ । निषेधाज्ञाअघि व्यापारीले प्रतिलिटर १३०ले बिक्री गर्दै आएको खानेतेल करिब १ सय २५ प्रतिशतले मूल्य वृद्धि गरी २९० रुपैयाँसम्म प्रतिलिटरमा बिक्री गर्दै आएका छन्। सल्यानका ग्रामीण भेगका बजारमा सबैखाले सामानमा निषेधाज्ञा हुनुअघिको खुद्रा मूल्य र त्यसपछिको मूल्यमा रु १० देखि रु १५०प्रतिशत सम्म बढाएर बिक्री भइरहेको पाइएको छ ।
ग्रामीण भेगका व्यापारीहरुले बजारमा रिचार्ज कार्डको कमी भएको भन्दै रु ५० को रिचार्ज कार्डमा रु पाँच र १०० को रिचार्ज कार्डमा रु १० थप गरेर लिने गरेको स्थानीय उपभोक्ताहरुको गुनासो छ । निषेधाज्ञाका बेला पनि सरकारले खाद्यान्नलगायतका अन्य दैनिक उपभोग्य वस्तुको आयात निर्यातमा कुनै रोक नलगाएको भए पनि ढुवानी र लोड अनलोड गर्न मजदुरहरुको अभाव देखाएर थोक बिक्रेताले सबै वस्तुमा मूल्य बढाएको खुद्रा बिक्रेताको भनाइ छ ।
यसरी अस्वाभाविकरूपमा दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धि भएको विषयमा जान्दाजान्दै सरोकारवाला तथा नियमनकारी निकाय अनभिज्ञ हुँदा निषेधाज्ञाले गर्दा रोजगारी गुमाएका सर्वसाधारण विपन्न वर्ग महँगोमा खाद्यान्न किन्न बाध्य भएको उपभोक्ताको गुनासो छ । लकडाउनसँगै खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भइरहँदा स्थानीय निकाय, उद्योग वाणिज्य सङ्घ र जिल्लास्तरीय बजार अनुगमन समिति मौन बसेको सर्वसाधारणको आरोप छ ।