नेपालगञ्जमा आजदेखि एक हप्ता लकडाउन

८ वैशाख २०७८

बाँकेको नेपालगञ्जमा आज राती १२ बजेदेखि लकडाउन हुने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थान केन्द्रको बैठकले बुधबार राती १२ बजेदेखि बैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

यसबीचमा दैनिक उपभोग्य वस्तु लगायतका पसल मात्रै खोल्न पाइनेछ । जिल्लामा संक्रमण बढ्नुको साथै कोभिड १९ का बिरामीले अस्पतालका बिरामी कक्ष समेत भरिएपछि बाध्य भएर लकडाउन अर्थात निषेधाज्ञा गर्नुपरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

‘अहिलेसम्म परीक्षणको अवस्था र बिरामीको संख्या हेर्दा निषेधाज्ञा (लकडाउन) को विकल्प देखिएन’ उनले भने, ‘कोभिड संक्रमणको चेनलाई ब्रेक गर्न निषेधाज्ञा गरेका हौँ ।’

अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा ७ सय ३५ जनामा कोभिड १९ संक्रमण देखिएको छ । सरकारले पाँच सय भन्दा बढी संक्रमित देखिएमा लकडाउन गर्न स्थानीय तहलाई अधिकार दिएको छ ।

प्रतिक्रिया दिनुहोस