संक्रमितले सक्दिनँ भन्ने स्वघोषणा गरे सरकारले निःशुल्क उपचार गर्छ । : प्रधानमन्त्री

७ कार्तिक २०७७, शुक्रवार,

दसैंको अवसरमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचार गर्न सरकार पछि नहटने दाबी गरेका छन् । जनताको जीवनरक्षा गर्नु पनि सरकारको सबैभन्दा पहिलो काम र परम कर्तव्य भएको भन्दै आज देशवासीका नाममा गरेको सम्बोधन का क्रममा कोभिड–१९ बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने बताए । पहिचान, परीक्षण र उपचारमा मात्रै होइन, यस महामारी बिरुद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागि समेत सरकार क्रियाशील रहेको उनले बताएका छन् ।

कोभिड–१९ को कारण दसैं विगतभन्दा फरक तरिकाले मनाउनु परेको पनि उनले बताए । मान्यजनहरुसँग टीका जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुनसक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्नुपर्ने भन्दै उनले भनेका छन्, ‘ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरुमा संक्रमणको संभावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दशैं मनाउनु हुन म सबैमा आग्रह गर्न चाहन्छु ।’
अहिले कोरोना संक्रमण अहिलेसम्मकै उच्च देखिएको र काठमाडौं उपत्यका संक्रमणको केन्द्रजस्तै बनेको बताए । महामारी नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले आफ्नो सम्पूर्ण प्रयास केन्द्रित गरेको उनले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस