अझै रोकिएन स्क्रब टाइफस, संक्रमित संख्या ८१२ पुग्यो

सल्यान, १० कार्तिक ।

सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या ८१२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप चार महिलामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या बढेको हो । जिल्लामा हालसम्म यो रोगका कारण १० जनाको मृत्यु भइसकेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार कात्तिक १० गते (आज) जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा ४५ जनाको परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये २६ महिला र १९ पुरुष थिए । तीमध्ये चार महिलामा संक्रमण पुष्टि भएको छ भने पुरुष कसैमा पनि संक्रमण देखिएको छैन ।

यससँगै जिल्लामा संक्रमित महिलाको संख्या ६४० पुगेको छ भने पुरुषको संख्या १७२ रहेको छ । कुल संक्रमितमध्ये १० जनाको मृत्यु भएको छ । मृतकमध्ये दार्मा गाउँपालिकाका आठ पुरुष र एक महिला तथा छत्रेश्वरी गाउँपालिकाकी एक महिला रहेका छन् ।

जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालका अनुसार पछिल्लो परीक्षणमा दार्मा गाउँपालिकामा पाँच जना, बागचौर नगरपालिकामा २३ जना, छत्रेश्वरी गाउँपालिकामा छ जना, सिद्धकुमाख गाउँपालिकामा तीन जना र सल्यान जिल्ला अस्पतालमा आठ जनाको परीक्षण गरिएको थियो । दार्मामा दुई महिला र तीन पुरुष, बागचौरमा १३ महिला र १० पुरुष, छत्रेश्वरीमा चार महिला र दुई पुरुष, सिद्धकुमाखमा एक महिला र दुई पुरुष तथा सल्यान जिल्ला अस्पतालमा छ महिला र दुई पुरुषको परीक्षण गरिएको हो ।

जिल्लामा स्क्रब टाइफसको संक्रमण सबैभन्दा बढी दार्मा गाउँपालिका र बागचौर नगरपालिकामा देखिएको छ । दार्मामा हालसम्म ८७८ जनाको परीक्षण गर्दा २५५ जनामा संक्रमण पुष्टि भएको छ भने बागचौरमा ८६९ जनाको परीक्षण गर्दा २६२ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै कुमाख गाउँपालिकामा ३१२ जनाको परीक्षण गर्दा ८२ जना, सल्यान जिल्ला अस्पतालमा एक हजार ३७ जनाको परीक्षण गर्दा ७५ जना, कपुरकोट गाउँपालिकामा २०३ जनाको परीक्षण गर्दा ७३ जना, छत्रेश्वरी गाउँपालिकामा १७० जनाको परीक्षण गर्दा ५४ जना, बनगाड कुपिण्डे नगरपालिकामा २३ जनाको परीक्षण गर्दा ११ जना, त्रिवेणी गाउँपालिकामा १७ जनाको परीक्षण गर्दा छ जना, सिद्धकुमाख गाउँपालिकामा २२ जनाको परीक्षण गर्दा तीन जना र कालिमाटी गाउँपालिकामा २१ जनाको परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको विवरण छ ।

वर्षायाममा बढी देखिने स्क्रब टाइफसका संक्रमितको संख्या जाडो सुरु भएसँगै घट्दै गएको भए पनि संक्रमण नियन्त्रणमा आइसकेको छैन । जिल्लाका विभिन्न सरकारी तथा निजी स्वास्थ्य संस्थामा परीक्षण जारी रहेको छ ।

गत वर्ष पनि दार्मा गाउँपालिकामा स्क्रब टाइफसको संक्रमण व्यापक रूपमा फैलिएको थियो । गाउँपालिकाका अनुसार गत वर्ष पाँच सयभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो भने चार जनाको मृत्यु भएको थियो ।

चिकित्सकका अनुसार स्क्रब टाइफस संक्रमित माइट (किर्नाजस्तो देखिने सूक्ष्म जीव) को टोकाइबाट सर्ने रोग हो । यसबाट बच्न खेतबारी, वनजंगल तथा झाडीमा जाँदा शरीर ढाकिने कपडा लगाउन र सम्भव भएसम्म बुट प्रयोग गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

त्यस्तै, घाँसे मैदान तथा झाडी भएका स्थानमा अनावश्यक रूपमा नबस्न र ज्वरो आउने, टाउको दुख्ने तथा शरीर दुख्ने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन उनीहरूले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस