सल्यान, ३१ असोज । सल्यानको कालिमाटी गाउँपालिकामा वर्षौँदेखि विद्युतको प्रतीक्षामा […]
सल्यान, ६ कार्तिक ।
सल्यानमा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका वडा नम्बर ४ का ६२ वर्षीय जितबहादुर मल्लको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । उहाँको मृत्युसँगै जिल्लामा स्क्रब टाइफसबाट ज्यान गुमाउनेको संख्या १० पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
कार्यालयका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालका अनुसार मल्लको मृत्यु भएपछि जिल्लाको आधिकारिक तथ्यांक अद्यावधिक गर्न लगाइएको छ ।
असोज २८ गते स्क्रब टाइफस परीक्षण गर्दा मल्लमा संक्रमण पुष्टि भएको थियो । लगातार केही दिन ज्वरो आएपछि उहाँले मेडिकलबाट सिटामोल किनेर खाएको र ज्वरो निको नभएपछि परीक्षण गर्दा संक्रमण देखिएको दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताउनुभयो ।
संक्रमण पुष्टि भएपछि उहाँ जिल्ला अस्पताल सल्यान पुग्नुभएको थियो । चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गरेर घर फर्किएका मल्ललाई घर पुगेपछि श्वासप्रश्वासमा समस्या देखिएको थियो । त्यसपछि परिवारले उहाँलाई घोराही स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएको थियो । त्यहाँ दुई दिन सघन उपचार कक्ष (आईसीयू) मा राखिएपछि थप उपचारका लागि नेपालगञ्ज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
जिल्लामा स्क्रब टाइफसबाट मृत्यु हुनेमध्ये दार्मा गाउँपालिकाका नौ जना र छत्रेश्वरी गाउँपालिकाका एक जना छन् । मृतकमध्ये एक बालकबाहेक अधिकांश ज्येष्ठ नागरिक तथा दीर्घरोगी रहेको जनाइएको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्यांक अनुसार जिल्लामा हालसम्म ८१७ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानीय तहका स्वास्थ्य संस्था, शिविर, जिल्ला अस्पताल तथा प्राइभेट स्वास्थ्य संस्थामा गरिएको परीक्षणका क्रममा संक्रमित भेटिएका हुन् ।
तथ्यांक अनुसार दार्मा गाउँपालिकामा ८७५ जनाको परीक्षण गर्दा २८१ जना, कुमाख गाउँपालिकामा २४० जनामध्ये ८२ जना, बागचौर नगरपालिकामा ८४१ जनामध्ये २४७ जना, कालिमाटी गाउँपालिकामा २१ जनामध्ये दुई जना, छत्रेश्वरी गाउँपालिकामा १५९ जनामध्ये ५१ जना र कपुरकोट गाउँपालिकामा १९० जनामध्ये ६९ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, बन्गाड कुपिण्डे नगरपालिकामा २४ जनाको परीक्षण गर्दा ११ जना, त्रिवेणी गाउँपालिकामा १७ जनामध्ये छ जना, सिद्धकुमाख गाउँपालिकामा १८ जनामध्ये तीन जना र जिल्ला अस्पताल सल्यानमा ९३४ जनाको परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको तथ्यांकमा उल्लेख छ ।
संक्रमित घटे पनि जोखिम कायमै
वर्षायाममा बढी देखिने स्क्रब टाइफस नियन्त्रणका लागि संघ, प्रदेश, जिल्ला तथा स्थानीय तहका स्वास्थ्यकर्मी र विशेषज्ञको टोली खटिएर रोगको पहिचान, उपचार तथा अनुसन्धान गरिरहेको छ ।
वर्षायामको तुलनामा अहिले संक्रमितको संख्या घटेको भए पनि संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्यकर्मीहरु बताउँछन् । वर्षायाम सकिएर हिउँद सुरु हुन लाग्दासमेत ठाउँठाउँमा संक्रमण देखिइरहेको छ। लामो समयपछि फेरि एक जनाको मृत्यु भएपछि स्थानीयमा त्रास बढेको छ ।
ग्रामीण क्षेत्रका बासिन्दा खेतीपाती, पशुपालन तथा घाँसदाउरा गर्न जंगल र झाडीमा जाने भएकाले संक्रमणको जोखिम कायम रहेको चिकित्सकहरुको भनाइ छ।
स्क्रब टाइफसबाट बच्न घाँसपात तथा झाडीमा काम गर्दा शरीर पूरै ढाक्ने कपडा लगाउन, घुँडासम्म छोपिने बुट र हातमा पञ्जा प्रयोग गर्न तथा घरवरिपरिका झाडी सफा राख्न आग्रह गरिएको छ ।

स्क्रब टाइफस संक्रमित किर्नाको लार्भा (चिगर) को टोकाइबाट सर्ने रोग हो । समयमै पहिचान र उपचार नभएमा यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । त्यसैले लगातार ज्वरो आउने, टाउको दुख्ने वा अन्य असामान्य लक्षण देखिएमा स्वास्थ्य संस्थामा जाँच गराउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
