शंकर केसी सल्यान, २८ असोज जिल्ला अस्पताल सल्यानमा एक्सरे मेसिनमा […]
शंकर केसी,
सल्यान, २८ असोज ।
सल्यानका विभिन्न बजारमा चाडपर्वलाइ लक्षित गरेर अनुगमन गरिएको छ । बजारमा हुन सक्ने कालोबजारी र गुणस्तरहीन वस्तुको बिक्रीवितरण नियन्त्रण गर्न सल्यानका कालिमाटी र त्रिवेणी गाउँपालिकामा बजार अनुगमन गरिएको हो । मंगलबार दुवै गाउँपालिकाले आ-आफ्नो क्षेत्रका प्रमुख बजारहरूमा छुट्टाछुट्टै टोली खटाएर निरीक्षण तथा अनुगमन गरेका हुन् ।
कालिमाटीमा २१ व्यवसायीको अनुगमन, म्याद गुज्रेका चार प्रकारका औषधि जफत
कालिमाटी गाउँपालिका अन्तर्गत वडा नं. २ र ३ मा मंगलबार निरीक्षण टोली संयोजक गोरख बहादुर थापाको नेतृत्वमा बजार अनुगमन गरिएको हो । टोलीले सो क्षेत्रमा रहेका कुल २१ वटा पसल तथा व्यावसायिक प्रतिष्ठानहरूको प्रत्यक्ष निरीक्षण गरेको थियो ।
अनुगमनका क्रममा स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै औषधि पसलहरूबाट चार प्रकारका म्याद गुज्रेका औषधिहरू भेटिएकाले तिनलाई तत्काल बरामद गरिएको छ ।
अनुगमन टोलीले पसलमा मूल्य सूची, साइनबोर्ड, व्यवसाय दर्ता तथा नवीकरण, नापतौलको प्रमाण, स्थायी लेखा नम्बरमा दर्ता र बिक्री बिल दिने प्रक्रिया भए/नभएको जाँच गरिएको गाउँपालिकाका सूचना अधिकारी बिष्णु प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
साथै उपभोग्य वस्तुको लेबलमा खुलाउनुपर्ने विवरण र म्याद नाघेका सामग्री, खरिद बिल तथा अघिल्ला निर्देशनहरूको पालना अवस्था समेत अनुगमन गरिएको बताइएको छ । अनुगमनका क्रममा एक पटक दिइएका निर्देशनहरू पुनः अनुगमन गर्दा पालना नभएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने बिषयमा पनि व्यवसायिहरुलाइ जानकारी गराइएको थियो ।
त्रिवेणीमा ४५ हजार बराबरको म्याद गुज्रेका सामान नष्ट
यसै गरी त्रिवेणी गाउँपालिकाले पनि आफ्ना प्रमुख बजार क्षेत्रहरूमा अनुगमन गरी म्याद गुज्रिएका तथा प्रयोग गर्न नमिल्ने करिब ४५ हजार रुपैयाँ बराबरका सामग्री बरामद गरी नष्ट गरेको छ ।
मंगलबार गाउँपालिकाको प्रमुख बजार क्षेत्रहरू लुहाम, शितलबजार, ढुंगीबजार, रिखे, काभ्रा, सल्लेखोला तथा टुनिबोटमा रहेका खाद्यान्न, कस्मेटिक पसल, होटल तथा अन्य व्यवसायहरूमा निरीक्षण गरिएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीप्रसाद खड्का, प्रवक्ता एवं वडा नं. ४ का वडा अध्यक्ष छविराज शर्मा, गाउँपालिकाका कर्मचारी तथा इलाका प्रहरी कार्यालयका प्रतिनिधिहरू सम्मिलित टोलीले सो अनुगमन गरेको हो । अनुगमनका क्रममा म्याद गुज्रिएका कस्मेटिक सामग्री, कोल्ड ड्रिंक्स, एग्रोभेटका सामग्री, औषधि, दालमोठ, भुजालगायतका वस्तु जफत गरी स्थानीय व्यापारी, प्रहरी र कर्मचारीहरूको रोहवरमा नष्ट गरिएको छ।
उपभोग्य अधिकार र गुणस्तर सुनिश्चिततामा जोड
उपभोक्ताको स्वास्थ्य र हित संरक्षण, गुणस्तरीय वस्तु तथा सेवाको उपलब्धता सुनिश्चित गर्न र बजारमा हुने सम्भावित अनियमितता रोक्न गाउँपालिकाहरुले अनुगमन गरेका हुन् ।
गाउँपालिकाहरूले स्थानीय व्यवसायीहरूलाई म्याद गुज्रिएका सामग्री बिक्रीवितरण नगर्न, पसल र वरपर सरसफाइ कायम राख्न तथा उपभोक्तालाई सर्वसुलभ र गुणस्तरीय वस्तु उपलब्ध गराउन आग्रह गरेका छन् । आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ ।
