काठमाडौँ । नेपालीहरुको महान चाड बडादशैँ आइतबारबाट सुरु भैसकेको छ […]
सल्यान, २७ असोज ।
सल्यानमा मंगलबार थप १३ जनामा संक्रमण पुष्टि भएसंगै स्क्रब टाइफस रोगका संक्रमितको संख्या ७५६ पुगेको छ । स्वास्थ्य सेवा कार्यालयको असोज ११ गतेदेखी मंगलबार (आज असोज २७ गते) सम्मको विवरण अनुसार ५९३ जना महिला र १६३ जना पुरुष गरेर ७५६ जनामा स्क्रब टाइफस पोजेटिभ देखिएको हो । यस बीचमा २१६७ जना महिला तथा ११३१ पुरुष गरेर जम्मा ३२९८ जना बिरामीको जाँच गरिएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले जानकारी दिनुभयो ।
संक्रमणबाट दार्मा गाउँपालिकामा आठ र छत्रेश्वरी गाउँपालिकामा एक गरी नौ जनाको मृत्यु भइसकेको छ ।
परीक्षण गरिएकामध्ये महिलामा संक्रमणको दर बढी देखिएको छ । संक्रमितमध्ये करिब ७८ प्रतिशत महिला छन् । स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लामा संक्रमण पुष्टि भएका महिलाको संख्या पुरुषको तुलनामा ४३० ले बढी छ ।
पालिकागत विवरण अनुसार दार्मा गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ २४० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, बागचौर नगरपालिका क्षेत्रका सरकारी तथा निजी स्वास्थ्य संस्थामा परीक्षण गरिएका बिरामीमध्ये २३७ जनामा संक्रमण देखिएको छ । यी दुई स्थानीय तहमा मात्रै ४७७ जना संक्रमित भएका छन् ।
सल्यानमा झन्डै तीन महिनायता स्क्रब टाइफसको संक्रमण फैलिरहेको छ । संक्रमणका कारण दार्मा गाउँपालिकाका विभिन्न वडामा एक बालक, एक महिला र ६ जना ज्येष्ठ नागरिक पुरुषको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिकामा पनि एक महिलाको मृत्यु भएको छ ।
संक्रमण नियन्त्रण, रोग पहिचान र उपचारका लागि संघ, प्रदेश, जिल्ला तथा स्थानीय तहका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । शिविर मार्फत ज्वरो आएका बिरामीको परीक्षण, संक्रमितको पहिचान र उपचारलाई प्राथमिकता दिइएको छ । स्वास्थ्यकर्मीको सक्रियता र परीक्षणको दायरा बढेसँगै पछिल्लो समय ज्वरोका बिरामी तथा नयाँ संक्रमितको संख्या पहिलेको तुलनामा घट्दै गएको देखिन्छ ।
यद्यपि संक्रमणको जोखिम पूर्ण रूपमा हटिसकेको छैन । संक्रमितको संख्या घट्न थाले पनि प्रभावित क्षेत्रका स्थानीयमा रोगबारे पर्याप्त जानकारी नहुँदा त्रास कायमै छ । रोगसम्बन्धी गलत सूचना र अफवाहले पनि स्थानीयमा डर बढाएको छ ।
स्क्रब टाइफस मुसामा परजीवीका रूपमा रहने संक्रमित माइटको टोकाइबाट मानिसमा सर्ने रोग भएको चिकित्सकहरु बताउँछन् । खेतबारी, झाडी, घाँसे क्षेत्र तथा घरवरपरका झाडीमा काम गर्दा यसको जोखिम हुन सक्छ । उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने तथा टोकेको ठाउँमा कालो दाग देखिनेजस्ता लक्षण देखिन सक्छन् । समयमै पहिचान र उपचार नभए रोगले गम्भीर रूप लिन सक्छ ।
स्वास्थ्यकर्मीले ज्वरो आएमा बेवास्ता नगरी नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराउन, झाडी तथा घाँसे क्षेत्रमा काम गर्दा शरीर ढाक्ने कपडा लगाउन र घरवरपरको वातावरण सफा राख्न सुझाव दिएका छन् ।
