कपुरकोट प्रहरी चौकीको जीर्ण भान्सा मर्मतमा व्यवसायीको सहयोग

सल्यान, २८ साउन –कपुरकोट गाउँपालिका–३ स्थित प्रहरी चौकीको जीर्ण भान्सा मर्मतका लागि स्थानीय व्यवसायीले सहयोग गरेका छन्। कपुरकोट ताजा तरकारी व्यवसायी संगठनले प्रहरी चौकीको भान्सा घरको जीर्ण छाना मर्मत तथा भान्सा व्यवस्थापनका लागि आवश्यक सामग्री सहयोग गरेको हो।

बिहीबार प्रहरी चौकीमा संगठनका अध्यक्ष यज्ञराज बोहरा र कोषाध्यक्ष जुबेर अहमदले प्रहरी चौकीका इन्चार्ज दीपक बस्नेतलाई जस्तापाता, भाँडावर्तन सहितका सामग्री हस्तान्तरण गर्नुभयो। हस्तान्तरण गरिएका सामग्रीको कुल मूल्य ३१ हजार ७ सय ३६ रुपैयाँ रहेको संगठनले जनाएको छ।

सहयोगमा १८ पाता निलो रंगीन जस्तापाता, १० फिटका प्लेन पाता, काँटी, वासरसहित भान्सा मर्मतका सामग्री छन्। त्यस्तै, भान्सा व्यवस्थापनका लागि ८ लिटर र ५ लिटर क्षमताका दुई थान प्रेसर कुकर, कराहीलगायतका आवश्यक भाँडाकुँडा पनि उपलब्ध गराइएको छ।

संगठनका कोषाध्यक्ष जुबेर अहमदका अनुसार व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत चौबीसै घण्टा सेवामा खटिने प्रहरीको कार्यस्थल सुधारमा सहयोग पुर्‍याउने उद्देश्यले सामग्री उपलब्ध गराइएको हो।

सहयोग सामग्री बुझ्दै प्रहरी चौकी इन्चार्ज दीपक बस्नेतले स्थानीय व्यवसायीको सहयोगले प्रहरी र नागरिकबीचको सम्बन्ध थप सुदृढ हुनुका साथै प्रहरीको दैनिक कार्यसम्पादनमा समेत सहजता पुग्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस