खसी बिक्रीमा त्रिवेणीका किसानको छलाङ, तीन वर्षमा १० करोडभन्दा बढीको कारोबार

सल्यान, असार ३० – सल्यानको त्रिवेणी गाउँपालिकामा सहकारीमार्फत खसीको बजारीकरण गर्ने अभ्यास प्रभावकारी बन्दै गएको छ। गाउँपालिकाले सञ्चालन गरेको “कृषकको उत्पादन गाउँपालिकाको अनुदान” कार्यक्रमले किसानलाई व्यावसायिक बाख्रापालनतर्फ आकर्षित गर्नुका साथै उत्पादनको सुनिश्चित बजार उपलब्ध गराएको छ। यसको परिणामस्वरूप पछिल्ला तीन आर्थिक वर्षमा मात्रै गाउँपालिकाका किसानले सहकारीमार्फत १० करोड ३३ लाख ४९ हजार ९९८ रुपैयाँ बराबरका खसी बिक्री गर्न सफल भएका छन्।

बजारको अभाव, व्यापारीको मनोमानी मूल्य र बिक्रीको अनिश्चितताले लामो समयदेखि समस्यामा परेका किसान अहिले भने सहकारीमार्फत आफ्ना खसी बिक्री गर्न पाउँदा उत्साहित छन्। गाउँपालिकाले प्रतिकिलो अनुदान उपलब्ध गराउँदै बजारीकरणमा सहजीकरण गरेपछि बाख्रापालन व्यवसायप्रति स्थानीयको आकर्षण पनि उल्लेखनीय रूपमा बढेको छ।

गाउँपालिकाको पशु विकास शाखाका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा मात्रै पाँच वटा सहकारी संस्थामार्फत दुई हजार ५८० वटा खसी बिक्री भएका छन्। कुल ९८ हजार २३ किलो तौलका खसी बिक्रीबाट किसानले चार करोड ७० लाख ७५ हजार ७६६ रुपैयाँ आम्दानी गरेका छन्। यस अवधिमा किसानले प्रतिकिलो १२ रुपैयाँका दरले गाउँपालिकाबाट अनुदान समेत प्राप्त गरेका छन्।

कार्यक्रममा सबैभन्दा बढी कारोबार वडा नं. १ स्थित दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत भएको छ। उक्त सहकारीमा आबद्ध २६७ जना कृषकले ९६२ वटा खसी बिक्री गर्दै ३२ हजार ४६३ किलो खसीबाट एक करोड ७० लाख ५२ हजार ९४६ रुपैयाँ आम्दानी गरेका छन्।

त्यसैगरी वडा नं. ६ को त्रिवेणी पशुपालन व्यवसाय सहकारी संस्थामार्फत ४१३ जना कृषकले ४१ हजार ३१३ किलो बराबरका खसी बिक्री गरी एक करोड ६९ लाख ६८ हजार ५८८ रुपैयाँ आम्दानी गरेका छन्। वडा नं. ४ को नमुना सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ९० जना कृषकले ३१९ वटा खसी बिक्री गरी ६२ लाख आठ हजार ४५७ रुपैयाँ ५० पैसा आम्दानी गरेका छन् भने वडा नं. ५ को उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ९१ जना कृषकले २९३ वटा खसी बिक्री गरेर ५५ लाख २१ हजार २७५ रुपैयाँ आम्दानी गरेका छन्। वडा नं. ६ कै त्रिवेणी साना किसान सहकारी संस्थामार्फत १७ जना कृषकले ७० वटा खसी बिक्री गरी १३ लाख ४६ हजार ३२० रुपैयाँ आम्दानी गरेका छन्।

पशु विकास शाखा प्रमुख वसन्त रावतका अनुसार किसानलाई उत्पादन बढाउन प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले चालु आर्थिक वर्षमा प्रतिकिलो १२ रुपैयाँका दरले नौ लाख ३३ हजार ५१६ रुपैयाँ अनुदान वितरण गरेको छ। सहकारी संस्थाहरूलाई व्यवस्थापन खर्चबापत प्रतिकिलो ५० पैसाका दरले ३८ हजार ८९६ रुपैयाँ उपलब्ध गराइएको छ। यस कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले कुल नौ लाख ७२ हजार ४१२ रुपैयाँ बजेट खर्च गरेको जनाएको छ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ देखि यो कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि पछिल्ला तीन वर्षमा यसको प्रभाव उल्लेखनीय रूपमा देखिएको छ। आर्थिक वर्ष २०८०/०८१ मा किसानले सहकारीमार्फत दुई करोड ३६ लाख ३० हजार ६२९ रुपैयाँ बराबरका खसी बिक्री गरेका थिए। त्यसपछिको आर्थिक वर्ष २०८१/०८२ मा यो रकम बढेर तीन करोड २६ लाख ४३ हजार ६०३ रुपैयाँ पुगेको थियो। चालु आर्थिक वर्षमा भने कारोबार चार करोड ७० लाख ७५ हजार ७६६ रुपैयाँ पुगेको छ। यसरी तीन वर्षको अवधिमा मात्रै १० करोडभन्दा बढीको कारोबार हुनुले कार्यक्रमको प्रभावकारिता पुष्टि गरेको गाउँपालिकाको भनाइ छ।

गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले विगतमा किसानले व्यापारीले तोकेको मूल्यमा बाध्य भएर खसी बिक्री गर्नुपर्ने अवस्था रहेको स्मरण गर्दै अहिले सहकारीमार्फत व्यवस्थित रूपमा बजारीकरण हुन थालेपछि किसानले उचित मूल्य पाउन थालेको बताउनुभयो। उहाँका अनुसार उत्पादन बढेसँगै स्थानीयको आयआर्जनमा समेत सकारात्मक प्रभाव परेको छ।

उहाँले गाउँपालिकाले उत्पादनसँगै बजारीकरणलाई जोड्ने नीति लिएकाले किसानको मनोबल बढेको बताउँदै आगामी वर्षहरूमा पनि बाख्रापालन, सहकारी सुदृढीकरण र कृषि उत्पादनको व्यावसायीकरणलाई प्राथमिकतामा राखेर यस्ता प्रोत्साहनमूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस