सल्यान, २३ भदौ । अविरल वर्षापछि राप्ती लोकमार्ग अन्तर्गत सल्यान […]
सल्यान, २३ भदौ ।
राष्ट्रिय शिक्षा दिवस तथा ६०औँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा सल्यानमा आयोजित जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा छत्रेश्वरी गाउँपालिकाकी चाँदनी दाहाल प्रथम भएकी छन् ।
शिवजन माध्यमिक विद्यालय शीतलपाटीमा आयोजित प्रतियोगितामा जानकी माध्यमिक विद्यालय दोहली, छत्रेश्वरीकी दाहालले प्रथम स्थान हासिल गरेकी हुन् । प्रतियोगितामा बागचौर नगरपालिका स्थित दुर्गा सरस्वती माध्यमिक विद्यालय बाफुखोलाकी बाल कुमारी थापा द्वितीय भएकी छन् ।
त्यस्तै, शारदा नगरपालिकास्थित त्रि.ज. माध्यमिक विद्यालय लुहापिङकी डुनिका बस्नेत तृतीय र ज्योति पुञ्ज एकेडेमी, शारदाका जीवन विष्टले सान्त्वना स्थान हासिल गरेका छन् ।
दलित विकास समाज सल्यान, रुम टु रिड र एक्सेस परियोजनाको संयुक्त आयोजनामा भएको प्रतियोगितामा सल्यानका १० वटै स्थानीय तहको सहकार्य रहेको थियो । शिक्षा विकास तथा समन्वय एकाइ सल्यानले प्रतियोगितामा समन्वय गरेको थियो ।
जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावल र प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाको आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा विभिन्न स्थानीय तहका विद्यालयबाट विद्यार्थीको सहभागिता रहेको थियो ।
प्रतियोगिताले विद्यार्थीहरूमा वक्तृत्वकला तथा प्रस्तुति क्षमताको विकाससँगै शैक्षिक र बौद्धिक विकासमा सहयोग पुग्ने अपेक्षा छ ।
