राप्ती लोकमार्ग: पहिरोले एक जनको मृत्यु, ठाउँठाउँमा सडक अवरुद्ध

सल्यान, २३ भदौ ।

अविरल वर्षापछि राप्ती लोकमार्ग अन्तर्गत सल्यान दाङ सडकखण्डमा खसेको पहिरोमा परेर सल्यानका एक युवा भलिबल खेलाडीको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर ३ निवासी १७ वर्षीय मदन पुनको पहिरोसँगै झरेको रुखले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी दीपक पातलीका अनुसार मंगलबार राति करिब साढे ९ बजे कपुरकोट गाउँपालिका ५, रिमस्थित अरिङ्गालेफेदी खारखोला सडकखण्डमा पहिरो खसेको थियो । सोही क्रममा रुखसहितको पहिरोमा परेर मदन गम्भीर घाइते भएका थिए ।

उनी कपुरकोट ५, रिममा पौराणिक तीनडाँडा मेलाको अवसरमा आयोजित खुला भलिबल प्रतियोगितामा सहभागी भएर घर फर्किँदै थिए । पहिरोमा परी गम्भीर घाइते मदनलाई उपचारका लागि सुर्खेततर्फ लैजाने क्रममा जयतपानी पुगेपछि स्वास्थ्यकर्मीले परीक्षण गरेका थिए । र परीक्षणका क्रममा उनको मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

घटनामा सोही स्थानमा पहिरोमा परी सुनिल थापा पनि घाइते भएका छन् । उनको उपचार भइरहेको जनाइएको छ ।

यसैबीच मंगलबार रातिको अविरल वर्षापछि राप्ती लोकमार्ग अन्तर्गत सल्यान दाङ सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

खारखोला क्षेत्रमा मंगलबार रातिदेखि अवरुद्ध सडकमा पहिरो हटाउने काम अन्तिम चरणमा पुगेको डीएसपी पातलीले जानकारी दिए । कपुरकोट भन्दा तल दाङतर्फको क्षेत्रमा भने पहिरो ठूलो रहेकाले सडक पूर्णरूपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने उनको भनाइ छ ।

सल्यानबाट प्रतिनिधिसभा सदस्य रमेशकुमार मल्लले पनि राप्ती लोकमार्ग अवरुद्ध भएपछि सडक डिभिजन कार्यालय दाङका प्रमुख तथा सम्बन्धित अधिकारी र स्थानीय तहका प्रतिनिधिहरुसंग सडक तत्काल सञ्चालनमा ल्याउने विषयमा छलफल भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस