सल्यान, ३ भदौ । सल्यानको भेरी नदीमा जीपसहित खसेर एक […]
सल्यान, भदौ २ गते ।
राप्ती राजमार्ग अन्तर्गत सल्यानको छत्रेश्वरीमा सवारी दुर्घटना हुँदा एकजना घाइते भएका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका, ६ शिवगुफा स्थित राप्ती राजमार्गमा मिनिट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएको सल्यान प्रहरीले जनाएको छ ।
मंगलबार साँझ करिब ६ बजे श्रीनगरबाट कपुरकोटतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ख ०१७६ नम्बरको मिनिट्रक र विपरीत दिशाबाट आउँदै गरेको रा.५ प ९४८७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक शारदा नगरपालिका, २ खलंगा निवासी २६ वर्षीय दिनेश बस्नेतको बायाँ खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो । घाइतेलाइ श्रीनगरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
मिनिट्रक चालक कपुरकोट गाउँपालिका, २ भित्रखोला निवासी २३ वर्षीय मोहन खत्री रहेको प्रहरीले जनाएको छ । मिनिट्रक चालकसँग चालक अनुमतिपत्र रहेको, मादक पदार्थ सेवन नगरेको तर मोटरसाइकल चालकसँग भने चालक अनुमतिपत्र साथमा नरहेको जनाउँदै प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय शीतलपाटीबाट खटिएको प्रहरी टोलीले दुवै सवारीसाधन नियन्त्रणमा लिएको थियो ।
यस अघि मंगलबार नै जिल्लाको कपुरकोट गाउँपालिका, ३ मुलपानी स्थित राप्ती राजमार्गमै सवारी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
