कुमाखको फितलो तयारी र व्यवस्थापन, साउन ११ सम्म राजस्व नउठ्ने

सल्यान, ७ साउन-सल्यानको कुमाख गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि करका दरहरू सफ्टवेयरमा अद्यावधिक गर्न नसक्दा साउन ११ गतेसम्म राजस्व संकलन कार्य स्थगित गरेको छ । गत असार १० गते नै गाउँसभाबाट नीति, कार्यक्रम, बजेट र आर्थिक ऐन पारित भए पनि समयमै नयाँ दररेट प्रणालीमा प्रविष्ट नगर्दा पालिकाले राजस्व संकलन सेवा नै बन्द गर्नुपरेको हो ।

गाउँपालिकाले सुत्र प्रणालीमा थप अद्यावधिक भएको कारण आर्थिक ऐन बमोजिमका करका दरहरु सेटअप गर्न समय लाग्ने भन्दै गाउँकार्यपालिका र सबै वडा कार्यालयबाट राजस्व संकलन सम्बन्धी सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको छ । असार मसान्तभित्रै सम्पन्न गरिसक्नुपर्ने काम साउनको दोस्रो सातासम्म लम्बिँदा सेवाग्राहीले विभिन्न प्रशासनिक सेवा लिन समस्या भोग्नुपरेको छ ।

स्थानीय तहमा घरजग्गा सिफारिस, व्यवसाय दर्ता तथा नवीकरण, नक्सा पास, नाता प्रमाणितलगायत अधिकांश सेवाका लागि पहिले राजस्व बुझाउनुपर्ने व्यवस्था छ । तर राजस्व संकलन नै बन्द भएपछि तीसँग सम्बन्धित दर्जनौँ सेवा प्रभावित बनेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपाल खड्काले तालिमप्राप्त जनशक्तिको अभावका कारण नयाँ करका दरहरू प्रणालीमा अद्यावधिक गर्न ढिलाइ भएको स्वीकार गरे । उनका अनुसार यसअघि राजस्व शाखामा कार्यरत तालिमप्राप्त कर्मचारी सरुवा भएर गएपछि महालेखा नियन्त्रक कार्यालयबाट अन्य कर्मचारीले समयमै आवश्यक तालिम लिन नसक्दा समस्या उत्पन्न भएको हो । “अहिले हामीले अन्यत्रबाट प्राविधिक जनशक्ति मगाएर काम गरिरहेका छौँ । सुर्खेतको लेकबेँसी नगरपालिकाबाट सहयोगका लागि प्राविधिक जनशक्ति ल्याइएको छ,” प्रमुख प्रशासकीय अधिकृत खड्काले भने ।

उनले प्रणाली अद्यावधिक भइरहेको भए पनि अत्यावश्यक काम परेका सेवाग्राहीलाई भने वैकल्पिक व्यवस्था गरी सेवा उपलब्ध गराइने बताए । आकस्मिक तथा रोक्नै नहुने प्रकृतिका कामका लागि आवश्यक सहजीकरण गरिने उनको भनाइ छ ।

स्थानीय तहले आर्थिक ऐन पारित भएसँगै नयाँ राजस्व दरहरू समयमै प्रणालीमा प्रविष्ट गरी नियमित सेवा सञ्चालन गर्नुपर्ने अपेक्षा रहन्छ । तर पर्याप्त समय हुँदाहुँदै पनि कुमाख गाउँपालिकाले आवश्यक तयारी पूरा गर्न नसक्दा नयाँ आर्थिक वर्षको झन्डै दुई सातासम्म राजस्व सङ्कलन सेवा बन्द हुनेभएको हो । यसले सेवा प्रवाहसँगै पालिकाको प्रशासनिक तयारी, जनशक्ति व्यवस्थापन र कार्यसम्पादन क्षमतामाथि समेत प्रश्न उठाएको छ ।

प्रतिक्रिया दिनुहोस