सल्यानमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका […]
१३ साउन| नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत साता पेरिसडाँडामा आयोजित एक कार्यक्रममा आफ्नो पार्टीका ४९ जनै सांसदलाई मन्त्री चाहिएको र यसले गर्दा आफू बेचैन भएको बताएका थिए ।
अन्ततः माओवादीले ४९ सांसद मध्येबाट मन्त्री बन्ने सम्भावित नामहरूको ‘सर्ट लिस्ट’ तयार पारेको छ । सर्ट लिस्टमा १३ जना नेताको नाम छ । माओवादीले ६ जनासम्म मन्त्री पाउने सम्भावना छ । दुई जना, पम्फा भुसाल र जनार्दन शर्मा यसअघि नै मन्त्री बनिसकेका छन् ।
माओवादी स्रोतका अनुसार प्रदेश १ बाट सुरेशकुमार राई, सुदन किराती र अमनलाल मोदीमध्ये एक जनालाई मन्त्री बनाउने तयारी छ ।
प्रदेश २ बाट मात्रिका यादवको नाम आएको छ ।
बागमती प्रदेशबाट हरिबोल गजुरेल, शशी श्रेष्ठ र अञ्जना बिसंखेमध्येबाट एकजना मन्त्री हुने माओवादी स्रोतले बतायो । हरिबोललाई पठाइएको अवस्थामा उनले पार्टीका तर्फबाट सरकारको नेतृत्व गर्ने माओवादीका नेताहरू बताउँछन् । त्यो अवस्थामा उनी उपप्रधानमन्त्री पनि बन्न सक्छन् ।
तर, सरकारमा पार्टीको नेतृत्वमा हरिबोलले गर्ने कि नारायणकाजी श्रेष्ठले गर्ने भन्ने टुङ्गो लागिसकेको छैन ।
गण्डकीको प्रतिनिधित्व हुने गरी नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल र हरि अधिकारीको नाम सर्ट लिस्टमा परेको छ । उनीहरूमध्ये एकजना मन्त्री बन्ने स्रोतले बतायो । यी तीन नाममध्ये नारायणकाजी श्रेष्ठलाई माओवादीबाट उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व गर्ने गरी पठाउने सम्भावना बढी देखिएको माओवादी नेताहरू बताउँछन् । तर, बागलुङका सांसद देवेन्द्र पौडेलले एकपटक पनि मन्त्री नबनेको स्थायी कमिटी सदस्य भएकाले आफूले अवसर पाउनुपर्ने बताउँदै आएका छन् ।