काठमाडौं । नेपालको सबैभन्दा पवित्र धार्मिक तीर्थस्थल मानिने पशुपतिनाथ क्षेत्रलाई […]
१७,बैशाख |कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम र उपचारका लागि एक अर्ब बजेट छुट्याएको छ।
प्रदेश सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणको महामारीमा गरेका काम र योजनाबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले कोरोना रोकथाम र उपचारका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिइन्।
जसमध्ये कोरोना कोषमा ५० करोड रूपैयाँ राखिने भएको छ। विकास खर्चबाट रकमान्तर गरी उक्त रकम राख्ने व्यवस्था मिलाइएको मन्त्री केसीले बताइन्।
यस्तै, कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि प्रदेश अस्पताल, सुर्खेतलाई २२ करोड रूपैयाँ, चौरजहारी सामुदायिक अस्पताल, जिल्ला अस्पताल र रणनीतिक अस्पताललाई १२ करोड रूपैयाँ बजेट निकासा गरी पठाएको मन्त्री केसीले जानकारी दिइन्।
प्रदेश सरकारले कोरोना भित्रिन नदिन प्रदेशका चार वटा नाकामा कडाइ गरिएको उनले बताइन्। ‘कर्णाली प्रदेश भित्रिने मुख्य ४ वटा नाकामा थप स्वास्थ्यकर्मीसहित एन्टिजेन परीक्षण र स्क्रिनिङको व्यवस्था मिलाएको छ,’ उनले भनिन्।
प्रदेश सरकारले विभिन्न मितिमा करारमा भर्ना गरिएका १०९ जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई संक्रमितको उपचारमा खटाएको उनले बताइन्।
यस्तै, १ सय ५० जना सहायकस्तरका स्वास्थ्यकर्मी भर्ना प्रक्रियामा रहेको र थप जनशक्ति आपूर्तिका लागि संघीय सरकार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनुरोध गरिएको मन्त्री केसीको भनाइ छ।
कोभिड नियन्त्रण तथा प्रतिकार्यका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको भन्दै मन्त्री केसी प्रदेशभर ४ वटा पिसिआर प्रयोगशाला रहेकोमा ३ वटा प्रयोगशालामार्फत परीक्षणको काम भइरहेको जानकारी दिइन्।
सुर्खेतस्थित प्रदेश अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुम पश्चिमको चौरजहारी अस्पताललाई हब अस्पतालको रूपमा र अन्य सबै अस्पतालमा अक्सिजनसहितको आइसियु र आइसोलेसन सुविधाको व्यवस्थापन गरिएको प्रदेश सरकारले जनाएको छ।
कर्णालीका स्थानीय तह, प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालमा समेत गरी १ हजार ९ सय ५० आइसोलेसन, ६२ आइसियु, ३४ भेन्टिलेटर र ५० एचडियु शय्या छन्।
अक्सिजन आपूर्तिका लागि प्रदेश अस्पतालमा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठूला अक्सिजन प्लाण्ट सञ्चालनमा ल्याइएको र १० वटै जिल्लामा मिनी अक्सिजन प्लाण्टको लागि ४०/४० लाख रूपैयाँका दरले बजेट विनियोजन गरिएको मन्त्री केसीले बताइन्।
