सकियो पहाडी जिल्लामा हाेली : यो वर्ष होलीको रौनक कम

१५, चैत्र २०७७

फैलिरहेको कोभिड–१९ को सङ्क्रमण जोखिम बढेकाले आपसी खु्शीयाली साटासाट गरेर मनाउने फागु पर्व (होली)को रौनक यो बर्ष कम देखिएको छ ।

तस्वीर : दिपक राना

गत साल ठाउँठाउँमा विभिन्न कार्यक्रम गरी होली मनाइएको थियो तर यसपाली भने त्यस्ता ठूला कार्यक्रम देखिएको छैन ।

विभिन्न सङ्घ संस्थाका कर्मचारी एकापसमा रङ दलेर होली मनाएका पाइएको छ भने युवाले साना–साना समूह बनाएर आपसमा फागु दल्दै होली खेलेको पाइएको छ ।

तस्बिर: प्रकाश भण्डारी

सल्यानमा पनि जिल्ला प्रशासन कार्यालयले सार्वजनिक ठाउँमा अनावश्यक भीडभाड नगर्न सूचना जारी गरेसँगै अघिल्लो वर्षहरुको जस्तो उल्लास र उमंगका साथ होली पर्व मनाउने हरु को संख्यामा कमी देखिएको हो।

तस्बिर : अभि ओलि

नेपालमा दोस्रो चरणको कोरोना भाइरस फैलानसक्ने भएकाले सतर्कता अपनाउन का साथै समारोह आयोजना गरेर होलि नखेल्न सरकारले आग्रह गरे संगै नागरिकले आ–आफ्नै परिवारका साथ घरभित्र होली खेलेर होली मनाइरहेका छन् । उनीहरुले घर परिवारले खेलेको होली सामाजिक सञ्जालबाट श्रव्यदृष्य र तस्वीरमार्फत सार्वजनिक गरिरहेका छन् । सामाजिक सचेतनामूलक सन्देशसमेत सर्वसाधारणबाट जारी भएका पाइन्छ ।

पहाडी जिल्लामा चैत्र आज होली मनाइएको छ भने भोलि तराइका जिल्लाहरुमा होली मनाइँदै छ।

चितवनलगायत केही जिल्लामा भने दुबै दिन होली मनाउने चलन छ । वसन्त ऋतुको आगमनसँगै आउने होली आपसी मेलमिलाप र सद्भावनाको सन्देश आदानप्रदान गर्दै मनाइन्छ । यस दिवसमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।

काठमाडौँको वसन्तपुरमा गाडिएको चीरलाई आजको दिन विधिपूर्वक ढाली बाजागाजाका साथ टँुडिखेलमा लगी जलाइने परम्परा छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर प्रह्लादलाई आगोले छुन नसकेको कथासँग होली पर्व जोडिन्छ । त्यसैले खुशीमा आपसी रङ दलेर होली मनाइने गरिन्छ ।

अर्को परम्पराअनुसार द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिएको घटनासँग पनि होली पर्व जोडिने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस