सल्यानस्थित भेरी नदीमा जीप खस्दा दुई जना बेपत्ता, अरु दुई जना घाइते

सल्यान, साउन २७ ।

भेरी नदीमा जीप खस्दा जीपसंगै बेपत्ता भएका दुई जनाको पनि पहिचान खुलेको छ । पश्चिम सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडकखण्डबाट बोलेरो जीप भेरी नदीमा खस्दा बेपत्ता भएका दुई जनाको पहिचान खुलेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा बेपत्ता हुनेमा चालक दाङ निवासी करिब २३ वर्षीय हेमराज बि.सी. र जीपमा सवार सल्यानको सिद्धकुमाख गाउँपालिका–४ निवासी करिब ४३ वर्षीय भिम बहादुर राना रहेको बताइएको छ । घाइतेबाट प्राप्त विवरणका आधारमा उनीहरूको पहिचान खुलेको प्रहरीले जनाएको छ । यद्यपि बेपत्ता दुबैजनालाइ यो समाचार तयार पार्दासम्म फेला पार्न सकिएको छैन । सशस्त्रको गोताखोर टोलीबाट खोजीको तयारी गरिएको छ ।

बुधबार दिउँसो करिब २ बजेतिर बालुवासंग्राहीबाट सल्लीबजारतर्फ जाँदै गरेको लु १ ज ३०२२ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल भेरी नदीमा खसेको थियो । जीपमा चालकसहित चार जना सवार थिए ।

दुर्घटनामा घाइते भएका वनगाड कुपिण्डे नगरपालिका–१ आपखोली निवासी २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकीको सल्ली सिटी अस्पताल, सल्लीबजारमा उपचार भइरहेको छ । विकको नाक तथा शरीरका विभिन्न भागमा चोट लागेको छ भने बुढाथोकीको देब्रे खुट्टामा चोट लागेको छ। दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

जीपसहित भेरी नदीमा बेपत्ता भएका चालक बि.सी. र रानाको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको छ ।

इलाका प्रहरी कार्यालय देवस्थल, प्रहरी चौकी वनगार, इलाका प्रहरी कार्यालय रागेचौर तथा जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी नायब उपरीक्षक दीपक पातलीको कमाण्डमा ३० जना प्रहरी टोली खोजी तथा उद्धारमा खटिएको छ । त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर सल्यानबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दीपकराज गुरुङको कमाण्डमा ११ जनाको टोली पनि घटनास्थलमा परिचालित छ । बेपत्ता दुई जनाको र जीपको खोजी कार्य जारी रहेको सल्यान प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस