छत्रेश्वरीको गर्चेमा एकीकृत विशेषज्ञ शिविरबाट एकैदिन ३७२ जनाले सेवा लिए

सल्यान, १० फागुन ।

सल्यानको छत्रेश्वरी गाउँपालिकामा शनिबार आयोजना गरिएको एकीकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य शिविरबाट ३७२ जनाले सेवा लिएका छन् । छत्रेश्वरी गाउँपालिकासंगको सहकार्यमा स्वास्थ्य सेवा कार्यालय सल्यानले छत्रेश्वरी-६ गर्चे स्थित छत्रेश्वरी आधारभूत विद्यालयमा संचालन गरेको शिविरबाट ३७२ जना बिरामीले लाभ प्राप्त गरेका हुन ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका डाक्टर अर्जुन बुढा मगर सहित ७ जनाको विशेषज्ञ टोलिले बिरामीको चेकजाँच, उपचार तथा परामर्श सेवा प्रदान गरेको थियो । शिविरबाट प्रयोगशाला जाँच सेवा ३५ जना, भिडियो एक्सरे सेवा ३० जना, डेण्टल सेवा २९ जनाले लिएको स्वास्थ्य शाखा छत्रेश्वरीका प्रमुख गणेशमान डांगीले जनाए । यसैगरी ७१ जनाको भिआइए जांच गरिएकोमा पोजेटिभ देखिएका बिरामी एकजनाको उपचार गरिएको र ७ जनालाई रिङ प्रेसरी सेवा प्रदान गरिएको उनले जनाए ।

यसअघि शिविरको उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउने उदेश्य अनुरुप गाउँपालिकासंगको समन्वयमा स्वास्थ्य सेवा कार्यालयले यसप्रकारको शिविर संचालन गरेको भन्दै आभार व्यक्त गरे । यस्तै प्रमुख डाक्टर बुढा मगरले स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै नागरिकको स्वास्थ्य सुरक्षामा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

शिविरमा छत्रेश्वरी गाउँपालिका स्वास्थ्य शाखा, छायाछेत्र स्वास्थ्य चौकी भोटेचौरमा कार्यरत स्वास्थ्यकर्मी पनि खटिएका थिए । स्वास्थ्य सुविधाको अभावका कारण नियमित स्वास्थ्य परीक्षण र उपचारबाट बञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न निशुल्क शिविर संचालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस