एमालेको जरा अभियानप्रति उत्साह, कपुरकोटका सबै वडामा भेला सम्पन्न

सल्यान, २ फागुन ।

नेकपा एमालेको तीन महिने जरा अभियान अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिकाका सबै वडाहरुमा भेला तथा बैठक सम्पन्न भएको छ । पार्टीका जिल्ला अध्यक्ष भिम बहादुर सेन, प्रदेश कमिटी सदस्य घनश्याम शर्मा सहित जिल्लास्तर र पालिकास्तरका नेताहरुको सहभागितामा कार्यक्रमहरु सम्पन्न भएका हुन् । साथै विभिन्न टोल भेला पनि तय भएका छन् । कतिपय वडाहरुको टोल भेला समेत सम्पन्न भइसकेको नेकपा एमाले कपुरकोट गाउँपालिका कमिटीका अध्यक्ष मधुसुदन गिरीले जानकारी दिए । स्थानीय स्तरमा पार्टी संगठनलाई थप मजबुत बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियान अन्तर्गत कपुरकोटका सबै वडामा विभिन्न कार्यक्रम गरिएको उनले जनाए ।

वडास्तरका भेलाहरूमा संगठन सुदृढीकरण, आगामी निर्वाचन तयारी, जनसंगठन विस्तार र पार्टी नीति तथा कार्यक्रमको प्रवद्र्धनका विषयमा छलफल गरिएको एमाले कपुरकोटका सचिव रुपक बुढाले जनाए । गत माघ २० गते गाउँपालिका कमिटीको पूर्ण बैठक बसेर एमाले कपुरकोटले अभियानलाई प्रभावकारी रुपमा अगाडी बढाउने निर्णय गरेको थियो । सो अनुरुप माघ २३ मा वडा नम्बर १ को भेला, २४ गते वडा नं ४ को भेला, २६ गते वडा नं ३ को भेला, २८ गते वडा नं ५ को भेला, २९ गते वडा नं ६ को भेला र ३० गते वडा नं २ को भेला सम्पन्न भएको बुढाले जानकारी दिए ।

कपुरकोट सहित अन्य पालिकाहरुमा पनि अभियान चलिरहेको एमाले सल्यानले जनाएको छ । एमालेको नेतृत्वमा भएका राम्रा कामहरू नागरिकसमक्ष पुर्याउने र नागरिकहरुको सुझाव संकलन गरेर समृद्धिको कार्यक्रम तयार गर्न अभियानले टेवा पुर्याउने एमालेको विश्वास छ ।

नेकपा एमाले सल्यानले पछिल्लो समय जरा अभियानलाई व्यापक रूपमा अघि बढाइरहेको छ । हाल सम्म सम्पन्न स्थानीय स्तरका भेलाहरूले कार्यकर्तालाई उर्जा प्रदान गरेको सहभागीहरूले बताएका छन् । विभिन्न वडास्तरीय भेलाहरूमा नागरिकको अपेक्षा, स्थानीय विकास र पार्टीको भावी रणनीतिका विषयमा छलफल गरिएको भन्दै एमाले सल्यानका अध्यक्ष सेनले जरा अभियानले नेकपा एमालेलाई संगठनात्मक रूपमा थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

नेकपा एमाले राजनीतिक दल मात्र नभएर विकास, समृद्धि र स्थायित्वको आधार भएको भन्दै एमाले सल्यानका उपाध्यक्ष ओज बहादुर बुढाथोकीले अभियानलाई प्रभावकारी रुपमा संचालन गरिरहेको जनाए । निष्ठावान कार्यकर्ता परिचालन, नयाँ सदस्यता वितरण र मतदातासँग प्रत्यक्ष संवाद गर्ने कार्यलाई प्राथमिकता दिएको भन्दै उनले कार्यकर्ताहरू र अन्य स्थानीयहरुले समेत अभियानप्रति उत्साह देखाएको र नेकपा एमालेको लोकप्रियता बढ्दै गएको जनाए । अभियानमा सहभागीहरूले पार्टीलाई स्थानीय तहसम्म व्यवस्थित बनाउन यसप्रकारको नयाँ कार्यक्रमले मद्दत पुर्याएको भन्दै नेकपा एमालेको विचार, नीति र संगठनलाई थप सशक्त बनाउँदै अघि बढ्नका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।

कपुरकोट गाउँपालिकाको जरा अभियानमा एमाले सल्यान जिल्ला कमिटी सचिवालय सदस्य तथा सल्यान निर्वाचन क्षेत्र ख का संयोजक ओम बहादुर बुढा, जिल्ला कमिटी सदस्यहरु भिमा बुढाथोकी, मित्रलाल कठायत, ललिता गिरि र रुपलाल बुढाथोकी लगायत पालिका कमिटी, वडा कमिटीका पदाधिकारी एवम् सदस्यहरु खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस