छत्रेश्वरीमा दुई महत्वपूर्ण योजनाको उद्घाटन र शिलान्यास

सल्यान, २ फागुन ।

सल्यानको छत्रेश्वरी गाउँपालिकामा दुई महत्वपूर्ण योजनाको उद्घाटन तथा शिलान्यास सम्पन्न भएको छ । बिहीवार गाउँपालिकाको वडा नम्बर २ मा नयाँ प्रशासनिक भवनको उद्घाटन गरिएको छ भने वडा नम्बर ५ मा करिब साढे ७० लाख लागतमा निर्माण हुने ढोरलाचौर लिफ्ट खानेपानी सरसफाइ योजना शिलान्यास गरिएको छ ।

छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ मा निर्माण गरिएको नयाँ प्रशासनिक भवनको गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी र उपाध्यक्ष बुद्ध कुमारी खत्रीले संयुक्त रूपमा उद्घाटन गरे । अब सेवा प्रवाहलाई सहज, प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने वडा अध्यक्ष प्रेम बहादुर नेपालीको भनाइ छ । भ्याटबाहेक ६४ लाख ५४ हजार ७७९ रुपैयाँको लागतमा समृद्धि निर्माण सेवा मार्फत निर्मित यस भवनमा विभिन्न कक्ष तथा अन्य आवश्यक पूर्वाधार रहेका छन् ।

यसैबीच छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ मा ढोरलाचौर लिफ्ट खानेपानी सरसफाइ योजनाको गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले शिलान्यास गरेका छन् ।कार्यक्रमका विशेष अतिथि गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, वडा नम्बर ५ का अध्यक्ष फौद बहादुर बस्नेत, अन्य वडा जनप्रतिनिधि, पूर्व वडा नम्बर २ का अध्यक्ष, सुस्वा कार्यक्रमका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो ।

७० लाख ४३ हजार १८० रुपैया लागतमा निर्माण हुने यस यिजनामा लिफ्ट खानेपानी प्रणालीको माध्यमबाट करिब १०६ घरधुरीमा स्वच्छ खानेपानी पुर्याइनेछ । योजना अन्तर्गत १३५० मिटर तलबाट पानी तानेर धमधमे, ढांकुडाडा, तीनपोखरी, जुम्ली गाउँ, तल्लो जुम्लीगाउँ, बागबजार, पुनगाउँ लगायतका बस्तीमा वितरण गरिनेछ ।

वडा नं २ मा प्रशासनिक भवन उद्घाटनकै दिन वडा कार्यालय भवन प्रांगणमा सातौं वडा अध्यक्ष कप खेलकुद प्रतियोगिताको पनि उद्घाटन गरिएको छ । फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न खेलहरू समावेश गरिएका छन् । उद्घाटन समारोहमा स्थानीय सांस्कृतिक समूहहरूले परम्परागत नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।

वडा अध्यक्ष श्री प्रेम नेपालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेत, वडा नम्बर १ का वडा अध्यक्ष प्रकाश हमाल, कार्यपालिका सदस्य बसन्ता जिसी, वडा सदस्यहरू इन्द्रा वली, युवराज खड्का, लाल बहादुर वली, दोलखी बिक, पूर्व गाउँपालिका उपाध्यक्ष सीता केसी, पूर्व वडा नम्बर २ का अध्यक्ष प्रेम खड्का लगायत जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, विद्यालयका प्रतिनिधि, आमा समूह, खेलाडी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उद्घाटन तथा शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष, उपाध्यक्षले छत्रेश्वरी गाउँपालिकाले स्थानीय विकास र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताएका थिए । नयाँ प्रशासनिक भवनले सेवा प्रवाहलाई चुस्त बनाउनेछ भने लिफ्ट खानेपानी योजनाले स्थानीय बासिन्दाहरूको दीर्घकालीन समस्या समाधान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस