सल्यान, ३ माघ । सल्यानका एक युवाले आफ्नो जन्मदिनको अवसरमा […]
सल्यान, २४ पुस ।
छत्रेश्वरी गाउँपालिकामा महिलाहरूलाई सीप प्रदान गरी आयआर्जनको नयाँ अवसर श्रृजना गर्ने उदेश्य सहित कटाइ सिलाइ तालिम सुरु गरिएको छ । सीप सिक्न इच्छुक छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ का महिलाहरुलाइ ९० दिने कटाइ सिलाइ तालिम सुरु गरिएको हो ।
वडा कार्यालयमा बुधबार तालिमको औपचारिक उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले महिलाहरूको भूमिका समाजको विकासका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्तो तालिमले महिलाहरुलाई आर्थिक रूपमा सक्षम बनाउने विश्वास व्यक्त गरिन । छत्रेश्वरी गाउँपालिका र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको संयुक्त साझेदारीमा तालिम संचालन गरिएको हो । यस तालिममा १५ जना महिलाहरु सहभागी छन् ।
कार्यक्रममा गाउँपालिकाका प्रवक्ता एवम वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेतले मन्तव्य बोल्दै तालिमलाइ अवसरको रुपमा लिएर मिहेनतका साथ सीप सिकेर उत्कृष्ट व्यवसायी बन्न र जिवनस्तर माथी उठाउन आग्रह गरे । यस्तै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख श्यामलाल खरालले महिलाहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमको भूमिका महत्वपूर्ण हुने भन्दै आफ्नो कार्यालयले उपभोक्ता हित संरक्षण र उद्योग प्रवद्र्धनका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गरे । तलिममा सहभागी महिलाहरुले तालिममार्फत आफ्नै गाउँमा स्वरोजगारका अवसर सिर्जना गर्न र भविष्यमा व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने बताउँदै उत्साह व्यक्त गरेका छन् ।
तालिमका प्रशिक्षक बिमला घर्तीले महिलाहरूलाई आधारभूतदेखि व्यवसायिक कटाइ सिलाइका विभिन्न सीप सिकाउनेछिन । तालिम उद्घाटन कार्यक्रममा वडा सचिव दुर्गा बहादुर केसी, उद्योग कार्यालयका सहायक पाचौ जनक खड्का, सुचना अधिकारी श्री ध्रुव बहादुर खत्री, गाउँपालिकाका उद्यम विकास सहजकर्ता निमा बस्नेत लगाएतको सहभागिता रहेको थियो ।