सामुदायीक विद्यालयका ६० जना बालवालिकालाई न्यानो कपडा वितरण

सल्यान, २१ पुस ।

सल्यानको शारदा नगरपालिकामा ६० जना बालवालिकालाई न्यानो कपडा वितरण गरिएको छ । शैक्षिक वातावरणमा सुधार ल्याउनुका साथै सामुदायिक विद्यालयप्रति आकर्षित गर्ने उद्देश्य सहित नगरपालिकाको वडा नं २ का ६० जना बालवालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।

त्रिजमावि बालमन्दिरका ३४ र सिद्धार्थ प्रावि जोगिदेउखोलाका २६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । नगर प्रमुख प्रकाश भण्डारी, वडाध्यक्ष सविन हमाल, कार्यपालिका सदस्य मञ्जु परियार र रमा शर्माले बालबालिकालाई कपडा हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भण्डारीले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्नका लागि मात्र नभई विद्यार्थीहरूको आवश्यकतालाई केही हदसम्म भएपनि पुरा गर्नका लागि यस्ता प्रकारका कार्यक्रम सञ्चालन गरिएको बताए । उनले भने, ‘बालबालिकालाई शैक्षिक सामग्री, विद्यालय पोसाक र न्यानो कपडाजस्ता सहयोगले सामुदायिक विद्यालयप्रतिको विश्वास बढ्ने हाम्रो अपेक्षा छ ।’

बालमन्दिरमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक माधव जिसीसहित अभिभावक, शिक्षक र विद्यार्थीको उत्साहजनक उपस्थिति रहेको शिक्षक शान्ति प्रभा पुरीले जनाइन् । यसैगरी सिद्धार्थ प्रावि जोगिदेउखोलामा पनि प्रधानाध्यापक जुनी डाँगी लगायत शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको यज्ञ विक्रम शाहले जानकारी दिए ।

न्यानो कपडा पाएपछि बालबालिकाहरूमा खुशी छाएको छ भने सामुदायिक विद्यालयको महत्व बढाउन पनि यस प्रकारको कार्यक्रमले टेवा पुर्याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस