मातृभुमी लघुवित्तद्वारा मृतकका परिवारलाई लघु विमा रकम हस्तान्तरण

सल्यान, १८ पुस ।

सल्यानमा मातृभुमी लघुवित्त वित्तिय संस्थाले मृतकका परिवारलाई लघु विमा रकम हस्तान्तरण गरेको छ । लघुवित्तको समूहमा आवद्ध भइ सरल कर्जा उपयोग गरेकी सिद्ध कुमाख गाउँपालिका वडा नम्बर ३ निवासी अमृता कुमारी चलाउनेको मृत्यु भएपछि संस्थाले उनको घरपरिवारलाई लघु विमा वापतको रकम उपलब्ध गराएको हो ।

वडा अध्यक्ष जीवराज वोहराले मृतकका भाई लोकराज चलाउनेलाई विमा वापतको रकम पाँच लाख पचास हजार रुपैयाँ चेक मार्फत हस्तान्तरण गरेको मातृभुमी लघुवित्त वित्तिय संस्था श्रीनगर शाखा प्रमुख डिला पाण्डेले जानकारी दिइन् ।

मृतक अमृता विगत चार वर्ष अघिदेखी लघुवित्तको समूहमा आवद्ध भइ सरल कर्जाको पाँच लाख रुपैयाँ उपयोग गरेकी थिइन् । उनको गत भदौ ३१ गते मृत्यु भएको थियो ।

यस्तै संस्थाले समूहमा आवद्ध भइ सरल कर्जा उपयोग गरेका शारदा नगरपालिका वडा नं ८ मार्के निवासी प्रेम बहादुर कवरको मृत्यु भएकाले उनको परिवारलाई पनि विमा रकम हस्तान्तरण गरेको छ । मृतककी श्रीमति भिमी कवरलाई विमा वापतको रकम २७ हजार पाँच सय रुपैयाँ हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

मातृभुमी लघुवित्त वित्तिय संस्थाले ऋण र बचतको कारोबार, बीमा अन्तर्गत लघुबीमा सुविधा उपलब्ध गराउने गर्दछ ।

यस्तै उद्यम विकास कार्यक्रम अन्तर्गत निःशुल्क पशु उपचार, बन्ध्याकरण र घरदैलो कार्यक्रम निःशुल्क कृषि तथा पशु तालिम, निःशुल्क पशु शिविर, बाख्रा भैंसी, बङ्गुर गाईको पशुको बिमा समेत हुने गरेको शाखा प्रमुख डिला पाण्डेले जानकारी दिइन् ।

ग्राहक संरक्षण कोष कार्यक्रम अन्तर्गत सुत्केरी सुविधा वापत १५०० रुपैयाँ, मिर्गौला तथा मुटु र पाठेघरको अपरेसन गरेकोलाई ७५००, प्राकृतिक प्रकोप भूकम्प आगजनी भएमा ५००० रुपैयाँ समूहमा आवद्ध सदस्यहरुलाई उपलब्ध गराउनेगरेको छ ।

यस्तै संस्थाले स्वास्थ्य शिविर सञ्चालन, कृषि तथा व्यवसाय जन्य यन्त्र उपकरण, मेसिनरी औजार वितरण तथा विउविजन एवम् फलफुलको विरुवा समेत वितरण गर्नेगरेको संस्थाका उद्यम विकास संयोजक युवराज सुनारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस