सल्यान, ३ माघ । सल्यानका एक युवाले आफ्नो जन्मदिनको अवसरमा […]
सल्यान, १८ पुस ।
शैक्षिक गुणस्तर वृद्धि तथा विद्यार्थीको वहुआयामिक विकासका लागि सल्यानका सामुदायीक विद्यालयहरुले विभिन्न प्रयास गर्दै आएका छन् । यसैक्रममा जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ स्थित कालिका माध्यमिक विद्यालयले शिक्षण पद्धतिलाई आधुनिक र विद्यार्थीमुखी बनाउँदै लगेको छ । फलस्वरुप सकारात्मक र महत्वपूर्ण उपलब्धी हाँसिल भइरहेको विद्यालयले जनाएको छ । शैक्षिक गुणस्तर बढाउनका लागि र बालवालिकाको विविध क्षमता विकासलाई प्राथमिकतामा राख्दै विभिन्न नविनतम क्रियाकलाप र कार्यक्रमहरू सञ्चालन गर्नेगरिएको विद्यालयका प्रधानाध्यापक चुडामणी केसीले जानकारी दिए ।
कालिमा माध्यमिक विद्यालयले २०६७ सालमा निकै ठूलो विपत्तिको सामना गर्नुपर्याे । अविरल वर्षाका कारण राप्ती लोकमार्गमाथी रहेको विद्यालयका ४ वटा भवन सडक संगै भासिएका थिए । त्यसपछि नजिकै अर्काे स्थानमा विद्यालय सञ्चालन गरिएको थियो । विभिन्न उतारचढापका विच अगाडी बढिरहेको यस विद्यालयले नियमित रुपमा अभिभावकहरुसंग अन्तरक्रिया तथा अभिभावक कक्षा, अतिरिक्त क्रियाकलाप, कोचिङ कक्षा, टोल भ्रमण, योग अभ्यास लगाएतका शिक्षा सुधारका काम गर्दै आएको छ ।
विद्यालयले प्रत्येक महिनामा अभिभावकहरुसंग गोष्ठी र अन्तक्र्रिया कार्यक्रम आयोजना गर्नेगरेको प्रअ केसी बताउँछन् । ‘विद्यार्थीको प्रगतिमा अभिभावकको प्रत्यक्ष भूमिका हुन्छ’, उनले भने, ‘विद्यालय र अभिभावकबीच सुमधुर सम्बन्ध कायम गर्नका लागि अभिभावकसंगको गोष्ठी र अन्तरक्रियाले महत्वपूर्ण सहयोग पुर्याएको छ ।’
यसैगरी विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्न विद्यालयले टोल भ्रमण कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यी भ्रमणहरूले उनीहरूलाई आफ्नो समुदाय, स्थानीय संस्कृति र सामाजिक विषयवस्तुहरूसंग जोड्न मद्दत पु¥याएको विद्यालयको भनाई छ । विद्यार्थीलाई दैनिक रूपमा लेखन अभ्यास गराउन डे बुक लेखन अनिवार्य गरिएको छ । यसले उनीहरूको लेखन शैली, आत्मअनुशासन र सोच्ने क्षमतामा सुधार ल्याउने विद्यालयको अपेक्षा छ ।
विद्यालयले विद्यार्थीको शैक्षिक क्षमता अभिवृद्धि गर्न नियमित कोचिङ कक्षाहरू सञ्चालन गर्दै आएको प्रअ केसी बताउँछन् । यस्ता कक्षाहरूले विद्यार्थीको कमजोर विषयमा सुधार गर्न सहयोग पु¥याएको छ भने प्रतिस्पर्धात्मक परीक्षा तयारीका लागि पनि फाइदा पुगेको उनको भनाई छ । कालिका माविले समयसापेक्ष नयाँ प्रविधि अपनाउँदै स्मार्ट बोर्ड, प्रोजेक्टर र अनलाइन शैक्षिक सामग्रीहरूको प्रयोगलाई प्राथमिकतामा राखेको छ । शिक्षणलाई सहज, रोचक अनी प्रभावकारी बनाउनका लागि नयाँ नयाँ प्रविधिले टेवा पुर्याएको शिक्षकहरु बताउँछन् ।
विद्यार्थीको मानसिक स्वास्थ्य, शारीरिक सन्तुलन र ध्यान केन्द्रित गर्नका लागि योग कक्षाको व्यवस्था पनि विद्यालयले गरेको छ । यसले विद्यार्थीको तनाव कम गर्न र ध्यान केन्द्रित गर्न मद्दत पु¥याएको विद्यालयको भनाई छ । यसैगरी शारीरिक तन्दुरुस्ती र एकताको भावना विकासका लागि विद्यालयले विभिन्न खेलकुद कार्यक्रमहरू र विद्यार्थीहरूको सिर्जनात्मक एवम् सांस्कृतिक क्षमता विकासका लागि नियमित रुपमा अतिरिक्त क्रियाकलापहरु संचालन गर्नेगरिएको विद्यालयका प्रअ केसीले जानकारी दिए ।
अभिभावकहरूले विद्यालयका गतिविधि, नवीनतम कार्यक्रम तथा विद्यार्थीकै हितमा केन्द्रित प्रयासहरु देखेर खुसी व्यक्त गर्नेगरेका छन् । विद्यालयको प्रयासले आफुहरु खुसी रहेको अभिभावक मोहनलाल पुनले बताए । आफ्ना बालबालिकाको शैक्षिक सुधार, अनुशासन एवम् आत्मविश्वासमा भएको वृद्धि देखेर खुसी लाग्ने गरेको अर्का अभिभावक पवित्रा बुढा बताउँछिन् । अभिभावकहरुले विभिन्न सुझावहरु समेत दिनेगरेको विद्यालयले जनाएको छ । कालिका माविले प्रदान गरेको अतिरिक्त कोचिङ, डे बुक लेखन, टोल भ्रमणजस्ता क्रियाकलापहरूले बालवालिकालाई व्यावहारिक ज्ञान प्रदान गर्न टेवा पुर्याएको अभिभावकहरुको प्रतिक्रिया रहेको छ । अभिभावकहरु हरि बहादुर घर्ती र झुपलाल घर्तीले पनि विद्यालयको क्रियाकलाप सन्तोषजनक रहेको भन्दै अझै निरन्तर रुपमा शैक्षिक सुधारका काम हुनुपर्ने बताउँछन् ।
विद्यालयमा हाल ४१५ विद्यार्थी अध्ययनरत छन् भने शिक्षक संख्या १७ जना रहेको छ । आफ्ना शैक्षिक क्रियाकलापहरुलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि थप भवनको अभाव रहेको प्रअ केसीले बताए । यसका साथै प्रविधियुक्त शिक्षाका लागि कम्प्युटरहरुको पनि अभाव रहेको उनको भनाई छ ।