निकोलसलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति नै दिएन

२०८१ पुष ८

८ पुस, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसालको म्याद थप गर्न अदालतले इन्कार गरेको छ ।

रविको फोटो आफूले खिचेको स्वीकारसमेत गरेका भुसाललाई पक्राउ गरी सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराउँदा न्यायाधीश नारायण दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएको स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

अदालतमा म्याद थप नगर्ने बताएपछि अब हिरासतबाहिरै राखेर अनुसन्धान हुने कास्की प्रहरी प्रवक्ता डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

उनी रविको स्वास्थ्य अवस्था बुझ्न कास्की प्रहरी कार्यालय जाँदा सुतिरहेको फोटो खिचेर सार्वजनिक गरेपछि प्रहरीको आलोचना भएको थियो ।

फोटो आफूले खिचेको र खराब नियत राखेर सार्वजनिक नगरको बताएका भुसाललाई पक्राउ गरी आइतबार बिहानै पोखरा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस