जिल्लाभरका प्रअहरुसंग अन्तरक्रिया, शैक्षिक गुणस्तर सुधारको प्रयास

सल्यान, ८ पुस ।

शैक्षक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाई सल्यानको आयोजनामा श्रीनगरमा भएको कार्यक्रममा सल्यान  जिल्लाभरिका माध्यमिक तहका प्रधानाध्यापकहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

जिल्लामा रहेका माध्यामिक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न र सिकाइ आधान प्रदान गर्नको लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख बिष्णु प्रसाद बेलवासेले जानकारी दिए। जिल्लाका माध्यामिक बिद्यालयले आफुले गर्दै आएका असल अभ्यास आदानप्रदानले थप उर्जा मिल्ने उनको भनाइ छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले सामुदायिक विद्यालयहरुले असल अभ्यासहरु आदानप्रदान गर्नु आवस्यक रहेको बताए । केही बिद्यालयले राम्रा र नमुना काम गर्दै आएकाले यसलाई अन्य बिद्यालयले सिक्न आवस्यक रहेको उनको भनाइ छ । गुणस्तरीय शिक्षालाई ध्यान दिनको लागि सरकार मात्रै नभएर शिक्षक र अभिभावक पनि सचेत हुनुपर्ने रावलको भनाइ छ ।

शिक्षक महासंघ सल्यानका अध्यक्ष लक्ष्मीनरायण केसिले सबै माध्यामिक गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए । उनले असल अभ्यासलाई अनुकरण गर्दै, सिकाईलाई ध्यान दिनुपर्ने र शिक्षक अभिभावक जिम्मेवारी बोध गर्दै अगाडि बढेमा शैक्षिक गुणस्तरमा सफलता मिल्ने उनको भनाइ छ । अन्तरक्रिया कार्यक्रममा उपस्थित प्रधानाध्यापकहरुले आ आफ्नो बिद्यालयले गरेका काम र असल अभ्यासका बारेका सिकाई आदानप्रदान गरेका थिए । सहभागिहरुले डिजिटल शिक्षालाइ समेत जोड दिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस