८ मंशिर ।
आधुनिक विश्वका किशोर-किशोरीको जीवनमा स्क्रिन (मोबाइल, ट्याब, ग्याजेटहरु) अनिवार्य भाग बन्न पुगेका छन्। तर यसले उनीहरूको मानसिक, भावनात्मक, र सामाजिक विकासमा नकारात्मक प्रभाव पारिरहँदा वर्तमान विश्नै अब आउने पुस्ताको भविष्यलाई लिएर चिन्तित हुन थालेको छ। किशोरहरूको डिजिटल संसारमा सुरक्षित यात्राका लागि अभिभावक, शिक्षक, प्लेटफर्म सिर्जनाकर्ता र नीति निर्माताहरुले अब सामुहिक प्रयास गरेनन् भने यसले पुर्याउने क्षति भयावह हुने विभिन्न अनुसन्धानले देखाएका छन्।
किशोर-किशोरीहरुले कस्तो प्रकारको सामग्री हेर्छन् र कति समय खर्चिन्छन् भन्नेमा धेरै नियमन गरिएको पाइँदैन। अनुसन्धानले देखाएको छ कि अनलाइन भिडियोहरूले किशोरहरूलाई सिक्न र एक-अर्कासँग जोडिन सहयोग गर्न सक्छ, तर अत्यधिक भिडियो हेर्ने बानी र स्ट्रिमिङ, सामाजिक सञ्जाल तथा अन्य इन्टरनेट प्लेटफर्महरूले तिनीहरूलाई आकर्षित गर्न प्रयोग गर्ने गरिने चलाखीपूर्ण उपायले किशोरहरूको भावनात्मक र मानसिक विकासमा नकारात्मक प्रभाव पार्न थालेको छ।
अब प्रश्न उठ्छ, किशोरहरूको सुरक्षित स्क्रिन प्रयोगको जिम्मेवारी कसले लिने? ती सामग्री सिर्जनाकर्ताहरू जसले किशोरहरूलाई आकर्षित गर्न र तिनीहरूलाई भिडियोमा घन्टौंसम्म झुन्ड्याइराख्न अल्गोरिदम विकास कसरी गर्छन्? ती अभिभावक जसले आफ्ना बालबालिकालाई कति समय स्क्रिनमा बिताउने र कस्तो प्रकारको सामग्री हेर्ने भन्नेमा सीमा निर्धारण गर्नु पर्दैन? वा नीति निर्माताहरू, जसले सिर्जनाकर्ताहरू र भिडियो प्लेटफर्महरूलाई उनीहरूले सामग्री कसरी प्रदान गर्छन् भन्नेमा थप जवाफदेही बनाउन सक्छन् कि सक्दैनन्? यी अहिलेका ताजा प्रश्नका रुपमा विकास भएका छन्।
अमेरिकन साइकोलोजिकल एसोसिएसन (एपीए) ले प्रकाशित गरेको एक नयाँ प्रतिवेदनले किशोरहरूमा विभिन्न प्रकारका भिडियो हेर्नुका प्रभावबारे नवीनतम वैज्ञानिक अध्ययन प्रस्तुत गरेको छ। सम्भावित हानिकारक सामग्री जस्तै आक्रामक व्यवहार, साइबर-घृणा, शरीरलाई लिएर भएको आलोचना, आत्महत्या, भेदभाव, र अन्य जोखिमपूर्ण गतिविधिहरूमा केन्द्रित भिडियोहरूले किशोरहरूको विकासशील सोच र सामाजिक व्यवहारको बुझाइमा विकृति ल्याउने प्रमुख माध्यम बनेका छन्।
अनुसन्धानहरूले देखाएका छन् कि किशोरहरूले कहिलेकाहिँ अनलाइन देखेका खतरनाक व्यवहारहरू अनुसरण गर्छन्, जसले उनीहरूको आफ्नै जीवन र अरूलाई पनि जोखिममा पार्न सक्छ। किशोरहरूले हेर्ने सामग्रीमा उनीहरूको आफ्नै कमजोरीले पनि प्रभाव पार्छ। तनाव वा मानसिक आघातबाट पीडित व्यक्तिहरू यस्ता अनुभवहरूलाई आधार बनाएका सामग्रीप्रति बढी संवेदनशील हुन सक्छन्। त्यस्तै, शरीर छविसम्बन्धी समस्या वा भावनात्मक अस्थिरता भएका किशोरहरूलाई त्यस्ता सामग्रीले झनै नकारात्मक रूपमा प्रभावित गर्न सक्ने अध्ययनले जनाएको छ।
प्रतिवेदनले अभिभावक, शिक्षक, नीति निर्माताहरू र सामग्री सिर्जनाकर्ताहरूले संयुक्त रूपमा किशोरहरूको भिडियो हेर्ने बानीलाई सकारात्मक र स्वास्थ्यवर्धक बनाउनका लागि कसरी भूमिका खेल्न सक्छन् भन्ने सिफारिस गरेको छ।
एपीएका प्रमुख वैज्ञानिक अधिकृत मिच प्रिन्स्टीन भन्छन्, ‘अभिभावकहरूले थाहा नै पाउँदैनन् कि उनीहरूका बालबालिकाले हेर्ने सामग्री धेरै अवस्थामा कसैले पनि बालबालिकाका लागि उपयुक्त छ कि छैन भनेर जाँच गरेको हुँदैन। हामीले बालबालिकालाई सुरक्षित ड्राइभिङ, सुरक्षित यौन व्यवहार, र शारीरिक हेरचाहको ज्ञान दिन्छौं। तर, मेरा विचारमा, हामीले तिनीहरूलाई डिजिटल संसारमा बाँच्न तयार पार्न पर्याप्त काम गरिरहेका छैनौं।’
यहाँ विशेषज्ञह र अनुसन्धानकर्ताहरूले किशोर-किशोरीहरूको भिडियो हेर्ने बानीलाई कसरी लाभदायक र स्वास्थ्यकर बनाउन सकिन्छ भनेर केही नियमन सिफारिस गरेका छन्।
अभिभावकले के गर्न सक्छन्?
अभिभावकले केही हदसम्म स्क्रिन समय सीमित गर्न सक्छन्, तर बालबालिकाले के हेरिरहेका छन् भन्ने जान्न अझ सक्रिय भूमिका खेल्नुपर्छ। ‘धेरै अभिभावकहरूका लागि यी प्लेटफर्महरू अपरिचित छन्, जसका कारण ‘मलाई यो सबै थाहा छैन’ भनेर हात उठाउन सजिलो हुन्छ।’ मिच प्रिन्स्टिन भन्छन्। ‘तर, हामीले बालबालिकालाई हामीलाई पनि सिकाउन आग्रह गर्नुपर्छ र उनीहरूले रमाइलो मान्ने कुरा बुझ्न चासो राख्नुपर्छ। त्यसपछि, जब उनीहरू कुनै कुरा देखेर अन्योलमा पर्छन् वा दुखित हुन्छन्, उनीहरू हामीसँग खुलेर कुरा गर्न बढी इच्छुक हुन्छन्।’
किशोर-किशोरीसँगै भिडियो हेर्ने र त्यसबारे छलफल गर्ने समय बिताउँदा, जस्तै बदमासी (बुलिङ) वा अनुचित व्यवहारजस्ता कठिन विषयहरूबारे कुराकानी गर्न सजिलो हुन्छ। यस्ता कुराकानीले बालबालिकालाई विश्वासिलो र वैधानिक साइट तथा सूचना स्रोतहरू र गलत सूचना फैलाउने अविश्वसनीय स्रोतहरू छुट्याउन सिकाउन पनि मद्दत गर्छ। साथमा अभिभावकले कम्तीमा आफ्ना किशोर किशोरीले के हेर्दैछन् भन्ने कुराको जानकारी राख्न सक्छन्।
अभिभावकले के उपयुक्त छ र के छैन भनेर आफ्नो धारणा प्रस्ट भन्नु पनि महत्त्वपूर्ण छ, नकि चुपचाप बसेर बेवास्ता गर्नु। ‘हामीले बोलेर प्रतिक्रिया जनाउन र बालबालिकालाई ‘तिमीले अहिले हेरेको कुरा कस्तो लाग्यो?’ भनेर सोध्नुपर्छ,’ प्रिन्स्टिन भन्छन्। ‘यदि त्यसो गरिएन भने, बालबालिकाले हामीले उनीहरूले हेरेको सामग्रीसँग सहमति जनायौं भन्ने सोच्छन्।’
प्रतिवेदनले थप के भन्छ?
प्रतिवेदनले अभिभावकहरू आफैंले पनि अधिक भिडियो हेर्ने बानीले पनि बालबालिकामा प्रभाव पार्न सक्छ भन्ने स्पष्ट गरेको छ। अभिभावकले आफैंले सन्देश दिन चाहेको कुरा व्यवहारमा उतार्नु पर्छ। जस्तो आफैं स्क्रिनको समय सीमित गर्ने र हेर्ने सामग्री छनोटमा सतर्क हुने साथै बालबालिकाहरूले पनि ती नै बानीहरू अनुकरण गर्ने सम्भावना धेरै हुन्छ। त्यसैले अभिभावकको हातमा आफ्ना सन्तानको भविष्य मुख्य रुपमा जोडिएको हुन्छ।
भिडियोका विषयमा पनि खानपानजस्तै ध्यान दिने
एपीएका विशेषज्ञहरू भन्छन्, अभिभावकले आफ्ना बालबालिकालाई स्वस्थ र अस्वस्थ खाना छुट्याउन सिकाउँछन्, के खान हुने र नहुने कुराहरु सिकाउँछन्। खाएकी खाएनन् भनेर हेर्ने गर्छन्। त्यस्तै बालबालिकालाई शैक्षिक र सहयोगी सामग्रीहरु जस्तै परिवार र साथीहरूसँगको सम्बन्धको चुनौतीलाई कसरी सामना गर्ने कथा सुनाउने सामग्री र कम उपयोगी सामग्री, जस्तै साइबर घृणा, बदमासी, र रूढीवादी, आक्रमक्ता र एक्लोपन ल्याउने जस्ता सोच फैलाउने सामग्री छुट्याउन सिकाउनु महत्त्वपूर्ण छ।
शिक्षकहरूले के गर्न सक्छन्?
प्रतिवेदनका अनुसार डिजिटल साक्षरता घरबाट सुरु भए पनि विद्यालयसम्म जारी रहनुपर्छ। शिक्षकहरूले किशोर-किशोरीलाई सामग्रीको विवेकपूर्ण उपभोक्ता बन्न सिकाउन सक्छन्। मिच प्रिन्स्टिन भन्छन्, ‘मैले हालै स्कूलका विद्यार्थीहरूसँग केही प्रस्तुति गरें, जहाँ हामीले केही एप्सका गोपनीयता खण्डबारे छलफल गर्यौं। जब बालबालिकाले आफूले बुझ्नै नपाई आफ्नो व्यक्तिगत जानकारी कसरी प्रयोग र सङ्कलन भइरहेको छ भन्ने थाहा पाए, तिनीहरू छक्क परे। एकपटक उनीहरूले यसबारे थाहा पाएपछि, के हेर्ने र कसरी हेर्ने भन्ने निर्णय उनीहरूले आफैं गर्न धेरै सक्षम बन्छन्।’
स्कूलहरूले किशोर-किशोरीलाई किशोर मस्तिष्कबारे पनि सिकाउन सक्छन्। यसले तिनीहरूलाई आफ्ना भित्री परिवर्तनहरू र तिनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने बुझ्न सहयोग पुर्याउँछ। ‘यदि उनीहरूले आफ्ना आवेगलाई नियन्त्रण गर्न किन गाह्रो महसुस हुन्छ, वा साथीहरूबाट स्वीकृति पाउन किन महत्त्वपूर्ण लाग्छ भन्ने बुझे, भने उनीहरूले आफ्ना व्यवहारहरू परिवर्तन गर्न थाल्ने छन्। जसमा उनीहरूले भिडियो सामग्री कसरी हेर्ने भन्ने पनि समावेश छ,’ प्रिन्स्टिन भन्छन्।
भिडियो प्लेटफर्म सिर्जनाकर्ताहरूले के गर्न सक्छन्?
प्रतिवेदनले भिडियो प्लेटफर्म सिर्जनाकर्ताहरूलाई अत्यधिक स्क्रिन समयलाई प्रोत्साहन गर्ने र किशोर-किशोरीलाई लक्षित विज्ञापनलाई थप नियन्त्रणमा राख्न आग्रह गरेको छ। प्लेटफर्महरूले किशोर-किशोरीलाई स्क्रिनमा घन्टौं झुन्ड्याइराख्ने ‘अटोप्लो’ जस्ता सुविधाहरूमा सुधार गर्न सक्छन्। यी सुविधाहरू हाल अधिकांशतः कृत्रिम बुद्धिमत्ताद्वारा सञ्चालित छन्, जसले किशोर विकासमा नकारात्मक प्रभावलाई थप बल दिन सक्छ।
कमेन्ट सेक्सनले पनि कसरी हानी पुर्याँछ?
कमेन्ट सेक्सन पनि अर्को सम्भावित हानि पुर्याउने स्रोत हो। किशोरहरूले पोस्ट गरेको सामग्रीमा आएका प्रतिक्रियाहरूबाट आफूलाई मापन गर्न थाल्दा उनीहरूको आत्म-मूल्याङ्कनमा असर पर्न सक्छ। साथै, अरूको विचारले ‘स्वीकार्य’ के हो भन्ने दृष्टिकोण बनाउन सक्छ, जसले किशोरको आफ्नै विचार फरक परेमा उनीहरूलाई अन्योलमा पार्न वा चोट पुर्याउन सक्छ। साथै हाँसी मजाकका रुपमा आउने कमेन्ट उनीहरुका लागि ‘सिरियस’ म्याटर बन्ने सम्भावना रहन्छ।
प्रतिवेदनले कम्पनीहरूले आफ्ना साइटमा पोस्ट हुने सामग्रीको जिम्मेवारी लिनुपर्ने सुझाव पनि दिएको छ। सामग्री सिर्जनाकर्ताहरूलाई मात्र दोष दिनुको साटो प्लेटफर्म कम्पनीहरूले पनि निगरानीको भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याइएको छ। यद्यपि प्लेटफर्म कम्पनीहरूलाई साइटमा पोस्ट भएका सामग्रीका लागि प्रतिरक्षा दिने प्रावधान छ, प्रिन्स्टिन भन्छन्, ‘किशोर-किशोरी त्यहाँ हुने थाहा हुँदा, यो प्रतिरक्षालाई पुनः विचार गर्नुपर्ने समय आएको छ।’
नीति निर्माताहरूले के गर्न सक्छन्?
यो प्रतिरक्षा प्रावधानलाई सम्बोधन गर्नु नीति निर्माताहरूले गर्नसक्ने महत्त्वपूर्ण कदम हो। साथै, किशोरहरूलाई सबै इन्टरनेट पहुँच नभएर उनीहरूको उमेरअनुसार उपयुक्त सामग्री हेर्न दिने विशिष्ट खाता प्रणाली बनाउने जस्ता प्रगतिशील उपाय अपनाउनु अर्को लाभदायक रणनीति हुन सक्छ।
बेलायत (युके) ले यस्तो दृष्टिकोण लागू गरेको छ। उसले ‘एज एप्रोप्रिएट डिजाइन कोड’ लागु गरेको छ। जसले बालबालिकाको गोपनीयता सुरक्षा गर्न उपायहरू समेटेको छ, जसमा अभिभावकहरूले नियन्त्रण गर्न मिल्ने किशोर प्रोफाइलहरू पनि समावेश छन्। ‘युकेका यी प्लेटफर्महरू बालबालिकाको लागि वयस्कका भन्दा पूर्णतः फरक देखिन्छन्,’ प्रिन्स्टिन भन्छन्, ‘यसबाट हामी जान्दछौं कि प्लेटफर्म कम्पनीहरूले यो गर्न सक्छन्। तर, अमेरिका लगायत अन्य कयौं देशमा यस्तो कुनै पनि व्यवस्था लागू भएको छैन।’
यस वर्षको सुरुमा, ‘किड्स अनलाइन सेफ्टि एण्ड प्राइभेसी याक्ट’ को मस्यौदा अमेरिकी प्रतिनिधिसभा र सिनेटले पारित गरेका थिए। यसले किशोर प्रयोगकर्ताहरूका लागि ‘दायित्वको कर्तव्य’ लागू गर्ने प्रस्ताव गरेको छ, जसमा साइबरबुलिङ, यौन शोषणविरुद्ध सुरक्षाका उपायहरू थप्नु र किशोर खाता सेटिङमा अटोप्ले जस्ता सुविधालाई सीमित गर्नु समावेश छ। तर, प्लेटफर्म कम्पनीहरूको अभिव्यक्ति स्वतन्त्रता अधिकार मा असर पर्छ कि भनेर भएका विवादका कारण, यो विधेयक पारित गर्न प्रतिनिधिसभा र सिनेटबीच अझै सहमति हुन बाँकी छ।
पछिल्ला वैज्ञानिक अध्ययनले यस विषयमा कार्य गर्नुपर्ने महत्त्वलाई देखाएको छ, प्रिन्स्टिन भन्छन्। ‘हामीले भिडियो सामग्री र बालबालिकाको विकासबारे धेरै कुरा बुझेका छौं भन्ने यो पहिलो पाइला हो’ उनले भने, ‘अब विज्ञानको आधारमा अघि बढौं र किशोरहरूको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्न थालौं।’